‘मोटर जलाउनेलाई कारवाही नगर’ भन्दै आन्दोलन
काठमाडौं । पोखराको शान्ति भंग गर्दै शनिबार बिहान एउटा यस्तो घटना भयो जसले देशव्यापी चिन्ता र चर्चा पायो । पोखरा महानगरपालिकाको मोटर केही व्यक्तिले सडकमा जलाइदिए ।
पोखराको मासबारमा गुडिरहेको महानगरको बा १ झ ५८७९ नम्बरको सो मोटरमा केही व्यक्तिले पेट्रोल छर्किए, आगो लगाए । क्षणभरमै गाडीबाट आगोको विशाल लप्का उठ्यो । पोखरा आतंकित भयो ।
यस्तो आतंककारी हर्कत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गर्ने गरेकाले कतिपयले सोही पार्टीको हर्कत होला भने । तर, सो हर्कत गरेको थियो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघले । केही बेरमै मिडियामा नेवि संघले यस्तो हर्कत गरेको समाचार आयो ।
सो दिन नेवि संघले पोखराका साथै काठमाडौं र अन्य केही ठाउँमा सरकारी मोटरमा आगजनी गरेको थियो ।
नेवि संघले विदाका दिन शनिबार सरकारी मोटर चल्न नदिने घोषणा गरेको थियो । सो घोषणा अनुसार उसले मोटर जलाएको थियो ।
मोटर जलाउने नेवि संघका कार्यकर्तालाई रिहा गर्नुपर्छ भन्दै नेवि संघका केन्द्रको आयोजनामा विद्यार्थीहरुको जमातले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेवि संघ अध्यक्ष नैनसिंह महरको अगुवाईमा रहेको जमातले काठमाडौं जिल्ला प्रशासन नजिकको निषेधित क्षेत्र तोड्न खोजेको थियो । त्यसैले उनीहरुलाई पक्रेर केही बेरपछि रिहा गरिएको प्रहरीले जनाएको छ ।
नेवि संघका कार्यकर्ताहरुले काठमाडौंमा पनि सरकारी मोटर जलाएका थिए । उनीहरुलाई चाहिँ पक्रने तदारुकता ओली सरकारले देखाएको छैन । बरु, पोखरामा पक्राउ परेकाहरुलाई कुनै मुद्दा नचलाई रिहा गर्ने दाउमा सरकार लागेको बुझिन्छ ।
आन्दोलन भन्दै सरकारी मोटर जलाउनेहरुलाई रिहा गर्नुपर्यो भन्दै नेवि संघका अध्यक्ष लगायतले विरोध प्रदर्शन गर्नुलाई अनौठो मानिएको छ । यति मात्र होइन, नेवि संघले मोटर जलाउने आफ्ना कार्यकर्ताले माफ पाउनुपर्छ र उनीहरुबाट क्षतिपूर्ति भराउन हुँदैन भन्दै बन्दको समेत आव्हान गरेको छ ।
नेवि संघले गाडि जलाउने, आगजनी गर्ने, तोडफोड गर्ने कार्य गरेपछि संघका पूर्व महामन्त्री तथा सांसद गगन थापाले कडा आलोचना गरेका छन् । कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पनि आततायी क्रियाकलापको विरोध गरेका छन् । कांग्रेसका कैयन नेता तथा शुभेच्छुक वुद्धिजीवीहरुले पनि नेवि संघले गरेको हिँसाको विरोध गरेका छन् ।
नेवि संघका कार्यकर्ताले गरेको हिँसा, आगजनीको विरोध कांग्रेस भित्रैबाट भइरहेको बेला सरकारले चाहिँ पक्राउ परेका अभियुक्तहरुलाई क्षतिपूर्ति नभराई तथा मुद्दा नचलाई छाड्ने प्रयास गरिरहेको बुझिन्छ । काठमाडौंमा मोटर जलाउने र अन्य ठाउँमा मोटर तोडफोड गर्नेलाई पक्रन पनि गृह प्रशासनले तदारुकता देखाइरहेको छैन ।
याे पनि पढाै-
ओली—देउवा गुप्त भेटघाटले पराजित एउटा विदेशी ‘डिजाइन’
सकियो भनेजुयला प्रकरण : प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता


प्रतिकृया दिनुहोस