उपत्यकामा चल्ने सार्वजनिक गाडीमा आजदेखि जोरबिजोर प्रणाली हट्यो
काठमाडाैं । काठमाडाैं उपत्यकामा चल्ने सार्वजनिक गाडीमा आजदेखि जोर-बिजोर प्रणाली हटेकाे छ ।
शुक्रबार बसेकाे काठमाडाैं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीकाे बैठकले उपत्यकामा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेकाे थियाे । साेही अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी जाेरबिजाेर प्रणाली हटाइएकाे हाे ।
ट्याक्सी र निजी गाडीमा भने जोरबिजोर प्रणाली कायमै रहने बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडाैंले निकालेकाे आदेशमा उल्लेख छ । तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू नहुने पनि आदेशमा उल्लेख छ ।
शुक्रबार नै बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक गाडीमा जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो । सरकारले काेभिड रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार यसअघि नै प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
काेभिड संक्रमण बढ्दै गएपछी उपत्यकामा माघ ७ गतेदेखि जाेरबिजाेर प्रणाली लागू गरिएकाे थियाे । जाेरबिजाेरले भीड बढेकाे र काेभिड जाेखि झन् बढेकाे भन्दै तीब्र आलाेचना भएकाे थियाे । साेही अनुसार प्रशासनले जाेरबिजाेरकाे समीक्षा गरेर सार्वजनिक गाडीमा साे नियम हटाएकाे हाे ।
बैठकले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ । विश्वविद्यालयका परीक्षा भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस