कोभिडबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
दमौली । कोभिड–१९ बाट ज्यान गुमाएकाकाे परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन् ।
स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट ज्यान गुमाएकाकाे परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो । कोभिड–१९ का कारण ज्यान गएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराइनेछ । जिल्लाका दसवटै पालिकामार्फत कोभिडबाट ज्यान गएकाकाे विवरण माग गरिएको अधिकारीले बताउनुभयो । 'अस्पतालमा ज्यान गुमाएका व्यक्तिका परिवारले मात्र आर्थिक सहायता पाउनेछन्, होम आइसोलेसनमा मृत्यु भएकाले रकम पाउँदैनन्,' उहाँले भन्नुभयो, 'सबै पालिकाबाट विवरण प्राप्त भएपछि रकम निकासा गर्छौं ।'
आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा ज्यान गएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने प्रावधान छ ।
तनहुँमा कोभिड–१९ बाट १५६ जनाको मृत्यु भएको तथ्यांक छ । त्यसमध्ये महिला ६१ र पुरुष ९५ छन् । दोस्रो लहरको कोरोना सुरु भएपछि वैशाखयता मात्रै एक सय २९ जनाको ज्यान गएको थियो ।
भानुका नौ, व्यासका ४५, शुक्लागण्डकीका ५४, भिमादका २४, म्याग्देका १०, घिरिङका ६, ऋषिङका एक, देवघाटका एक, बन्दिपुरका तीन र आँबुखैरेनीका तीनजनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
–रासस


प्रतिकृया दिनुहोस