• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

जाडो बढ्दा बिजुली किन काटियो ?

समाचार

समाचार

काठमाडाैं । मंगलबार रातिदेखि देशभर नै वर्षा भयो । बुधबार त दिनभर नै पानी पर्‍यो । जाडोको समयमा पानी पर्दा काठमाडौं वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो भनेर जिज्ञासा राखे । सामाजिक सञ्जालमा अघोषित लोडसेडिङ भएको त होइन भनेर चासो उत्पन्न भयो ।
 
विशेषगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रश्न तेस्र्याउँदै उपभोक्ताले चासो राखे । जाडोको समयमा सकेको जति बिजुली चलाऊ भन्दै आएको प्राधिकरणले किन बिजुली काटियो भन्ने बारेमा उपभोक्तालाई जानकारी त दियो, तर सबैले थाहा पाउन सकेनन् । वर्षात्का काराण बुधबार दुई सय मेगावाट बराबरको बिजुली प्रणालीले उपलब्ध गराउन कठिनाइ भयो ।  त्यसकारण उपभोक्तामा के भएको होला वा के गरेको होला भनेर चिन्ता वा चासो व्यक्त हुनु स्वभाविक नै थियो ।

आम रूपमा चासो व्यक्ति भए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भन्नुभयो, 'एकै पटक धेरै स्थानमा ट्रान्सफर्मरहरूमा समस्या देखा परेकाले केही जटिलता पैदा भयो । पानीका कारण  कतिपय स्थानमा समयमै मर्मत गर्न पनि कठिनाई भयो । त्यसकारण उपभोक्ताको तहबाट चासो हुनु स्वभाविक नै हो ।'

उहाँले बिजुलीको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको जानकारी दिनुभयो । प्राधिकरणको आग्रह अनुसार नै बिजुलीको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा केही स्थानमा समस्या उत्पन्न भएको र त्यो समस्या आजदेखि समाधान हुने उहाँको भनाइ छ ।

उहाँले बिजुलीको आपूर्ति नभएर वा नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि उपलब्ध गराउन सक्ने अवस्थामा प्राधिकरण रहेको बताउनुभयो । उहाँले काठमाडौं उपत्यका भित्रको बिजुलीको माग व्यवस्थापनका लागि विभिन्न स्थानमा  नौ वटा सबस्टेशन  निर्माणको क्रममा रहेकाले ती सम्पन्न भएपछि दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध गराउन सकिने तथ्यांक पेश गर्नुभयो । 

'दीर्घकालीन रूपमा काठमाडौं उपत्यकामा २ हजार मेगावाट बराबर  बिजुली उपलब्ध गराउने गरी काम भइरहेको छ', उहाँले भन्नुभयो, 'केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरहरूमा आगलागी भएको कारणले समस्या आइलागे ।' उहाँले पछिल्ला केही दिनदेखि आपूर्ति व्यवस्थापनमा समस्या आएको जनगुनासो आएको र त्यो देशभर नभई काठमाडौंमा मात्रै भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, 'यो सप्लाइको कारणले उत्पन्न भएको समस्या होइन । सप्लाई नपुगेकाले हामीले आपूर्ति नभएको पनि होइन । काठमाडौंका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँहरूमा मात्र समस्या भएको हो ।' उहाँले साँझको समयको अधिकतम माग हाल एक हजार सात सय मेगावाट र बिहान एक हजार पाँच सय ५० मेगावाटदेखि एक हजार ६ सय मेगावाटको हाराहारीमा रहेको जानकारी दिनुभयो । 

माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि बिहान र बेलुकाको अधिकतम माग व्यवस्थापनमा सहज भएको जानकारी दिँदै उहाँले बढी माग हुने साँझ बिहानको समयमा व्यवस्थापन गर्न सहज भएको बताउनुभयो । राजधानीमा जाडो बढेपछि बिजुलीको माग बढ्नु स्वभाविक रहेको उहाँको भनाइ छ ।

गत वर्षको तुलनामा यस वर्ष उपत्यकामा नै ८० देखि एक सय मेगावाट बराबरको माग बढ्न गएको उहाँले विवरण पेश गर्नुभयो । वर्षातका कारण  केही स्थानमा बिजुलीको माग अप्रत्यासित रूपमा वृद्धि भएकाले केही जटिला देखिनु स्वभाविक रहेको उहाँको भनाइ छ ।

प्राधिकरणका अनुसार काठमाडौं उपत्यकामा मात्रै तीन हजार सात सय वटा ट्रान्सफर्मर छन् । हाल मुख्यगरी वितरण ट्रान्सफर्मरमा समस्या देखिएको हो र ओभरलोड भएको हो । उहाँले भन्नुभयो, 'लोडअनुसार हामीले ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ । केही फिडरमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मर पछि पनि घरमा लगिएका तारमा आगलागी भएकाले समस्या देखा पर्‍यो ।'

उहाँले काठमाडौं उपत्यकामा ट्रान्सफर्मर परिवर्तन भइसक्ने हुनाले बिजुलीको समस्या नहुने जानकारी दिनुभयो । जग्गाको अभाव तथा केही स्थानमा स्थानीयले सबस्टेशन राख्न नदिएको तथा ट्रान्सफर्मर समेत राख्न नपाएकाले पनि समस्या पैदा भएको उहाँको गुनासो छ । 

–रासस
 

प्रतिकृया दिनुहोस