कांग्रेसले गर्यो देशव्यापी प्रदर्शन : हिँसाका घटना भएन
काठमाडौं । नेपाली कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरेको छ । कांग्रेसले यसलाई आन्दोलनको थालनी भनेको छ । हरेक जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने कांग्रेसले घोषणा गरेको थियो ।
कांग्रेसको प्रदर्शन शान्तिपूर्ण भएको छ, कतै पनि अप्रिय घटना नभएको कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ । प्रदर्शन शान्तिपूर्ण नहुने हो कि भन्ने चिन्ता बढेको थियो । आफ्नो भ्रातृ संगठन नेवि संघलाई हिँसात्मक गतिविधिमा उतारेपछि आजको प्रदर्शनलाई कांग्रेसले हिँसात्मक बनाउने हो कि भन्ने चिन्ता गरिएको थियो ।
कांग्रेसका कतिपय नेताहरुले उत्तेजना फैलाउन निरन्तर प्रयास गरिआएका छन् । तर, कतिपय नेताहरुले भने कांग्रेस हिँसात्मक बाटोमा जान नहुने भनिरहेका थिए । खासगरी संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा खेमाले हिँसात्मक प्रदर्शन गर्ने, मुठभेड बढाउने प्रयत्न गरे पनि विरोधी खेमाले त्यसलाई अस्वीकार गर्यो ।
कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेवि संघले गरेको हिँसा र आगजनीको कडा शब्दमा विरोध गरेका छन् भने पार्टीलाई मुठभेडमा लैजान खोजिएको भन्दै विरोध समेत गरेका छन् । सांसद गगन थापाले आइतबार प्रतिनिधिसभा वैठकमा उत्तेजक शैलीमा अभिव्यक्ति दिए पनि नेवि संघले गरेको आगजनी र तोडफोडको विरोध गरेका थिए । त्यसैगरी कांग्रेस निकट बुद्धिजीवी अधिकांशले पनि हिँसात्मक बाटोमा जाने र उत्तेजना फैलाउने पार्टीको प्रयासको विरोध गरेका छन् ।
हिँसात्मक बाटोमा जाने प्रयासको पार्टीभित्रैबाट कडा विरोध भएकाले पनि आजको विरोध शान्तिपूर्ण भएको मानिएको छ ।
सोमबारको विरोध प्रदर्शनका लागि कांग्रेसले विभिन्न जिल्लामा नेताहरुलाई खटाएको थियो । जिल्लाजिल्लामा भएको विरोधमा सरकारको कडा आलोचना गरिएको छ ।
कांग्रेसको विरोध प्रदर्शनमा अनौठो पक्ष के देखिएको छ भने शेरबहादुर पक्षीय नेताहरुले वाइडवडी विमान खरीद प्रकृयाका बारेमा खासै बोलेनन् भने देउवा विरोधी नेताहरुले चाहिँ विमान खरीद प्रकरणमा बोलेका छन् ।
नेपाल वायुसेवा निगमले दुईटा वाइडवडी विमान गर्दा भ्रष्टाचार भएको भनी कुरा उठेको छ र सो विमान खरीद तथा भुक्तानी प्रकृया शेरबहादुर प्रधानमन्त्री रहँदा सुरु भएको थियो । यो कुरा खुलेपछि शेरबहादुर पक्षले वाइड वडी विमान खरीद प्रकरणबारे कुरा उठाउन बन्द गरेको छ ।
कांग्रेसको सोमबारको प्रदर्शन शान्तिपूर्ण भए पनि नेवि संघले निरन्तर गरिरहेको प्रदर्शन शान्तिपूर्ण हुने कि नहुने भन्ने प्रश्न उठिरहेको छ । नेवि संघले गरिरहेको हिँसात्मक प्रदर्शनका बारे संस्थापन देउवा पक्षका नेताहरुले बोलेका छैनन् । नेवि संघले फागुनमा हुने भनिएका स्ववियू चुनाव स्थगित गर्नुपर्ने धारणा राखेको छ तर यो कुरा नभनेर अरु नै मुद्दा उठाएर हिँसात्मक विरोध अभियान चलाइरहेको छ ।
चुनावका बेला बाहेक कांग्रेसले यसरी देशव्यापी प्रदर्शन गरेको वर्षाैंपछि हो । कांग्रेसले लोकतान्त्रिक आन्दोलन यता यसरी विरोध प्रदर्शन गर्न परेको थिएन । नयाँ पुस्ताका कांग्रेसजनका लागि सोमबारको प्रदर्शन नौलो अनुभव भएको छ ।


प्रतिकृया दिनुहोस