English

सम्पादकीय

स्याब्बास् सरकार ! धन्यवाद नेपाली सेना !!

sunrisekhabar

 

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई शतप्रतिशत स्याब्बासी दिनुपर्ने बेला आएको छ । प्रसंग हो बारा पर्सा धूम्रपात पुननिर्माणको ।

सनराइज खबरले २२ चैत ०७५ मा बारा पर्सामा गएको धूम्रपातबाट भत्किएका घरहरुको सरकारले पुननिर्माण गर्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिने निर्णय सम्बन्धमा एक सम्पादकीय लेखेको थियो । जसमा हामीले यस्ता वाक्य पनि लेखेका थियौं– ‘सरकारले जे निर्णय गरेको छ त्यो स्वाब्बास् भन्न लायक छ । तर, अहिले चाहिँ आधा स्याब्बासी मात्र दिनुपर्छ । समयमै पुननिर्माण सकेपछि सरकारलाई शतप्रतिशत स्याब्बासी दिइनुपर्छ ।’

सरकारले तीन महिनाभित्र पुननिर्माण सक्ने भनेको थियो । र, काम सम्पन्न भएको छ । हामीले त्यसबेला संशय गर्दै लेखेका थियौं– ‘नेपालको परम्परागत ढिलासुस्ती र शासन शैलीलाई ध्यानमा राखेर यो निर्णयलाई हेर्ने हो भने यो काम ‘असम्भव’ छ ।’ अनि यो पनि लेखेका थियौं– ‘प्रधानमन्त्री केपी शर्मा ओली तथा सरकारको इच्छाशक्ति हेर्ने हो भने यो काम सम्भव छ ।’

बारा पर्सा पुननिर्माण चमत्कार हो । नेपालको शासन प्रशासनको भद्धा शैली, भ्रष्ट शैली, ढिलासुस्तीलाई किनारा लगाएर बारा पर्सा पुननिर्माण सम्पन्‍न भएको छ । आठ सय ५९ वटा घर निर्माण गरिएको छ । तीन महिना भित्र जनताका यति धेरै संख्यामा घर निर्माण हुनु दुर्लभ उपलब्धी हो । 

यो उपलब्धी कसरी सम्भव भयो ? यसको समीक्षा गर्नैपर्छ । नराम्रा काम र असफलताको मात्र समीक्षा गर्ने परिपाटी हटाएर राम्रा काम र सफलताको पनि समीक्षा गर्दै त्यस्तो सफलताका अन्तर्वस्तु पहिचान गरिनुपर्छ । ताकि भावी दिनमा ती सफलतालाई अन्य क्षेत्रमा पनि अनुकरण गर्न सकियोस्, फैलाउन सकियोस् । 

यो सफलताका मुख्य कारक सरकारको इच्छाशक्ति हो । सरकारको प्रतिवद्धता हो । हुनत सरकारको इच्छाशक्ति र प्रतिवद्धता सर्वत्र देखिन्छ तथापि यस्तो सफलता सबैतिर हात लाग्‍ने गरेको छैन । वारा पर्साको हकमा सरकारले पुननिर्माणको जिम्मेवारी आफै लियो । पुननिर्माणमा विदेशीलाई सामेल गरेन । विदेशी सहयोगको मुख पनि ताकेन । पुननिर्माणमा गैरसरकारी संस्था (एनजीओ)हरुलाई सामेल गरेन । सम्पूर्ण काम र जिम्मेवारीका लागि नेपाली सेनालाई अघि सार्‍याे ।

धूम्रपातले विध्वंश मच्चाएका बेला नेपाली सेनाले प्रशंसनीय ढंगले उद्दार कार्य गरेको थियो । घाइतेहरुका लागि रक्तदान गर्न सेनाका जवानहरु डाक्टरका अगाडि लाइन लागेर उभिएका थिए । ठूलो संख्यामा मानिसहरु घाइते हुँदा उनीहरुको उपचारका लागि रक्त अभाव हुने अवस्था थियो तर सेनाले अभाव हुनै दिएन । त्यसपछि पीडितहरुलाई राहत दिनमा पनि सेना अग्रपंक्तिमा थियो । पीडितहरुको अस्थायी बसोबासको बन्दोवस्त गर्न सेनाले आफूलाई पूरै समर्पित गरेको थियो । त्यसपछि पुननिर्माणको अभिभारा पनि नेपाली सेनाकै काँधमा आयो । 

नेपाली सेना मुलुकको गौरव हो । जनतासँग एकाकार हुने र जनताको दुखसुखमा साथ रहने नेपाली सेनाको गौरवमय परम्परा रहँदै आएको छ । यो परम्पराबाट नेपाली सेना कहिले पनि र कतिपनि दायाँवायाँ हुने गरेको छैन । पाएको जिम्मेवारी असाध्यै जिम्मेवारीपूर्वक र प्रभावकारी ढंगले फत्ते गर्नु नेपाली सेनाको विशेषता रहँदै आएको छ । त्यसैले सेनालाई पुननिर्माणको जिम्मेवारी दिएर सरकारले सफलता तर्फ पाइला अघि बढाइसकेको थियो । 

निश्‍चित थियो– पुननिर्माणमा विदेशीलाई सामेल गरिएको थियो भने पुननिर्माण कार्य अनन्त कालसम्म चलिरहने थियो । विदेशीलाई अनावश्यक रुपमा भूमिका दिँदा भूकम्पपछिको पुननिर्माण अहिलेसम्म पूरा हुन नसकेको तथ्य हाम्रा अघि छ । शायद त्यही भएर होला– ओली सरकारले पुननिर्माणको जिम्मेवारी आफ्नै काँधमा लियो र सेनालाई अघि सार्‍याे । 

जनता आवास कार्यक्रमले बनाउने जस्तो घर बनाइएको छ बारा पर्सामा । लागत जनता आवासको भन्दा सस्तो परेको छ । मितव्ययिताको उदाहरणीय नमूना सिर्जना भएको छ, मानक स्थापित भएको छ ।

भविष्यमा प्राकृतिक प्रकोप नहोस् भनी कामना गर्नपर्छ तर प्रकृतिले आफ्नो लीला सदासर्वदा गरिरहन्छ । त्यसको सिकार मानव समाज भइरहने छ । त्यसैले प्राकृतिक प्रकोपमा उद्दार, राहत र पुननिर्माणको काम भविष्यमा पनि गरिरहनु पर्नेछ । भविष्यका लागि देशले पुननिर्माणको उत्कृष्ट र सफल अनुभव हासिल गरेको छ । 

आकारको दृष्टिले बारा पर्साका सीमित गाउँमा गरिएको पुननिर्माण धेरै ठूलो नठानिन सक्छ तर हाम्रो परम्परागत अनुभव र अक्षमताको आलोकमा हेर्ने हो भने यो अत्यन्तै ठूलो कार्य थियो । यो कार्य वर्षाैंवर्ष तन्कन सक्थ्यो । यसमा राष्ट्रिय अन्तराष्ट्रिय स्वार्थहरु उत्पत्ति हुन सक्थे । सरकारले एककै झड्कामा पुननिर्माण सम्पन्न गरेको छ । यसका निम्ति सरकारलाई शतप्रतिशत स्याब्बासी दिनैपर्छ । नेपाली सेनालाई ह्रदय खोलेर बधाई र धन्यवाद दिनैपर्छ । जे उपलब्धी हासिल भएको छ, त्यो राष्ट्रिय उपलब्धी हो, त्यसमा सारा नेपालीले गर्व गर्नुपर्छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत