आउनुस्, बधाई साटौं, खुसी बाडौं
नेपाल र नेपालीले एउटा विशिष्ट खुसी पाएका छन् । त्यो खुसी हो— एक दिवसीय क्रिकेट श्रृङखलामा युएईमाथि अपूर्व विजय । यो सामान्य विजय होइन । नेपालले एक दिवसीय मान्यता पाउनु नै ठूलो उपलब्धी थियो । गत वर्ष मात्र पाएको त्यो हैसियतलाई संस्थागत गर्न नेपाली टोलीले एक दिवसीय श्रृङखला जित्न आवश्यक थियो । र, नेपाली क्रिकेट टोलीले त्यस्तो जितको चमत्कार देखाइदिएको छ ।
नेपालमा क्रिकेट खेलको सात दशकको इतिहास भए पनि अहिलेको उपलब्धीको यात्रा अथवा जग भने दुई दशक मात्र पुरानो हो । यो दुई दशकमा नेपाली क्रिकेटले शानदार यात्रा तय गरेको छ । जय र पराजयको विष्मयकारी अवस्था झेलेको छ । नेपाली टोली विश्व जगतमा शशक्त रुपमा उदाएको एक दशकभन्दा धेरै भइसकेको छ । नेपाली टोलीमा जुन क्षमता देखिन्थ्यो त्यस अनुसारको उपलब्धी भने पाउन सकेको थिएन । निर्णायक खेलहरुमा पराजित हुने अभागी ठहरिँदै आएको थियो ।
नेपाली टोलीमा सबै चिज थियो तर दुई चिज थिएन— परिपक्वता र आत्मविश्वाश । परिपक्वता क्रमश हासिल हुने चिज हो । अहिले नेपाली टोली विश्वको जुनसुकै देशसँग खेल्ने हैसियतको परिपक्व बनेको छ र जित्ने हैसियत पनि राख्छ । तर, नेपाली टोलीसँग आत्मविश्वाशको कमी देखिन्थ्यो । खेलमा प्रतिकूल परिस्थिति आउनासाथ टोली धराशायी हुन्थ्यो । प्रतिकूलता आउनासाथ हतास भएर कौशल नै प्रदर्शन गर्न सक्दैनथ्यो । निर्णायक खेलमा पहिले नै हतास भएर खेल गुमाउँथ्यो ।
पछिल्लो केही समयदेखि नेपाली टोलीसँग प्रचुर आत्मविश्वाश देखिएको छ । क्षमता त थियो नै, अब आत्मविश्वाश पनि छ नेपाली टोलीसँग । त्यसैले युएईमाथिको जितको जुन खुसी देशले मनाउन पाएको छ र योभन्दा महान खुसी आगामी दिनमा नेपाली टोलीले देशलाई दिनेछ ।
नेपाली टोलीले उमेर समूहहरुमा धेरै अघि देखि दवदबा बनाउँदै आएको भए पनि त्यसको लाभ लिन सकेन । माथिल्लो तहमा खेल्ने खेलाडीहरुलाई भौतिक सुविधा, खेल मैदान, प्रशिक्षण पर्याप्त थिएन । देशभित्र खेल प्रतियोगिता पनि पर्याप्त थिएन । तर, पछिल्लो कालमा लीग प्रभावकारी बन्दै गयो, नेपाली खेलाडीहरु विदेशी लीगमा समेत लीलामीमा पर्न थाले । चितवनमा अन्तराष्ट्रिय रंगशाला बनाउने निर्णय हालैमात्र भएको छ । सबै क्षेत्रमा क्रमश सुधार भइरहेको छ ।
खेल टोलीलाई सबैभन्दा चाहिने चिज के हो ? यो प्रश्नको जवाफमा भन्न सकिन्छ— प्रोत्साहन हो । जनस्तरबाट प्रोत्साहन भएन भने राष्ट्रिय टोलीले उर्जा पाउँदैन, जोशजाँगर पाउँदैन । यो मामिलामा नेपाली टोलीलाई सौभाग्यशाली छ । नेपाली टोलीलाई जनस्तरबाट दिइने प्रोत्साहन र समर्थन अपूर्व छ । नेपाली टोलीलाई जनताले दिने समर्थन अन्य देशका लागि पनि उदाहरणीय बनेको छ । त्यसकारण नेपाली टोलीले हासिल गरेको यो उपलब्धीमा नेपाली टोलीको समर्थनमा दिलोज्यान दिएर लागिपर्ने क्रिकेट प्रेमीहरु पनि हकदार छन् ।
उता नेत्रहीन महिला क्रिकेट टोलीले पनि पाकिस्तानमा भएको पाँच खेलको श्रृङखला एक खेल अगावै जितेको छ । टोलीका चेलीहरुलाई बधाई छ ।
यस्ता खेलमा हुने विजयबाट टोलीले पुरस्कार पाउँछ, खेलाडीले पुरस्कार पाउँछन् । देश र जनताले चाहिँ के पाउँछन् ? कतिपयले प्रश्न उठाएको सुनिन्छ । अन्तराष्ट्रिय खेल प्रतियोगिताहरुमा हुने विजयले राष्ट्रिय गौरव बढ्छ, देश र जनताको आत्मविश्वाश बढ्छ । देशमा उत्साह उमंगको भाव फैलन्छ । जनतालाई एकीकृत बनाउँछ । समष्टिमा भन्ने हो भने देशलाई माथि उठाउँछ ।
अब यो भन्दा ठूला विजयलाई स्वागत गर्न तयार बनौं । देशलाई माथि उठाउन योगदान गरेको नेपाली क्रिकेट टोलीलाई बधाई । नेपाली क्रिकेट समर्थकहरुलाई बधाई ।


प्रतिकृया दिनुहोस