• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

तरकारीले दिएको खुसी

अनुपम शर्मिला

अनुपम शर्मिला

काठमाडौं । गुल्मीका बिष्णु कुँवरसँग बिवाह गरिन् काठमाडौंकी कमला विडारीले । बिवाह गरेको चार महिनापछि पति बिष्णु सेनाका जागिरे बने ।

त्यसबेला सजिलो थिएन सेनाको जागिरे जिम्मेवारी निर्वाह गर्न । माओवादी जनयुद्ध चरममा थियो । देशमा सर्वत्र हत्या हिँसा थियो ।  

०६० सालको कुरा हो यो ।

केही समयपछि छोरा विशाल जन्मिए । कमलाको परिवारमा एक सदस्य थपिए । सन्तान भनेका आवश्यकता हुन् तर आर्थिक बोझ पनि हुन् । पतिको आम्दानीले घर धान्न गाह्रो हुन थाल्यो । 

उनी गुल्मीबाट माइत काठमाडौं आइन् । काठमाडौं आउनुको दुईटा कारण थियो । पहिलो हो– त्यसबेलाको असुरक्षाबाट बच्न । दोस्रो हो– भविष्य खोज्न ।

काठमाडौं आएर माइती दहचोकमा डेरामा बस्न थालिन् । कमाई हुने ठाँउ एउटै थियो– पतिको तलब । खर्च धेरै थियो । 

देश चुर्लुम्म हत्याहिँसामा डुबेका ती दिनमा अहिले जसरी सजिलै रोजगार पाइँदैनथ्यो । त्यसबीच कमलाको परिवारमा अर्को एक सदस्य थपिइन् । उनी थिइन्– छोरी पूर्णिमा । 

छोरामाथि छोरी पनि थपिएपछि कमला चिन्तित बनिन् । छोराछोरीलाई भविष्यमा कसरी पढाउने र बढाउने भन्ने चिन्तामा डुबिन् । तर, उनले चिन्तासँगै चिन्तन पनि गरिन् । उनले उपाय खोजिन् ।

सुत्केरी शरीर थियो । मनमा कुरा खेल्थ्यो, मनमनै अनेक योजना बन्थ्यो । जागिर गरौं पढाई छैन, केही उद्यम गरौं लगानी छैन । जति योजना बनाए पनि लक्ष्मीको मनमै सीमित रह्यो ।
सुत्केरी भएको बेला कमलाको ध्यान दहचोक क्षेत्रमा अरुले जग्गा भाडामा लिएर गरेको तरकारी खेतीमा पर्यो । तरकारी खेती गर्ने विचार आयो तर छोरी काखमै थिइन् ।

छोरी तीन वर्ष र छोरा १० वर्ष भएपछि कमलाले मैदानमा निस्कने अठोट गरिन् । दहचोकमै एक रोपनी जग्गा भाडामा लिइन् । तरकारी खेती गर्ने योजना परिवारलाई सुनाइन् । पति र माइतीले त्यसो नगर्न भने ।

कमलाले अड्डि कसिन्, तरकारी खेती गर्छु भनिन् । तर अहँ, परिवारमा कसैले हुन्छ भनेनन् । दुईजना लालाबाला स्याहारेर कसरी खेती गर्न सक्छौ भनी सबैले सोध्थे । 

कमला सक्छु भन्थिन् तर कसरी सकिन्छ भन्ने उनैलाई पनि थाहा थिएन । उनीसँग आँट भने थियो ।

त्यसबेला कमलाको मनमष्तिष्कमा एउटै कुरा गुन्जिन्थ्यो– आफ्ना लागि आफैले केही गर्नुपर्छ, अरुले गरिदिँदैन ।

अरुले जग्गा भाडामा लिएर गरेको तरकारी खेती कमलाले ध्यानसँग हेरेकी थिइन् । उनीहरुको श्रम देखेकी थिइन् । आम्दानी पनि देखेकी थिइन् । समस्या पनि देखेकी थिइन् । अनि, उनीहरुसँग खेती कसरी गर्ने भनेर सोधेकी पनि थिइन् । 

अरुको खेती हेर्न कमला गइरहन्थिन् ।

अरुको तरकारी खेती हेर्दै कमलाले आफ्नै तरकारी खेतीको योजना बनाएकी थिइन् । 

काखे छोरी च्यापेर अनि छोरालाई टुकुटुकु हिँडाउँदै कमलाले जीवन संघर्षमा एउटा यात्रा थालिन्– तरकारी खेतीको ।  

कुरा ०७१ सालको हो । 

ती दिन सम्झँदै कमला भन्छिन– ‘सुनका गहना बेचेर एक रोपनी जग्गा भाडामा लिएँ अनि खेती थालें ।’

पहिलो वर्ष खासै राम्रोसँग तरकारी फलेन । भाउ पनि राम्रो आएन । तर, कमलाले हिम्मत हारिनन् ।

अर्को सिजन आउदै थियो । कमलाले थप एक रोपनी जग्गा भाडामा लिइन् । अब दुई रोपनी भयो । थप ऋण खोजिन् । प्लाष्टिकका नयाँ टनेल  बनाइन् । गोलभेंडा लगाइन्, अरु तरकारी पनि लगाइन् तरकारी फल्यो । राम्रो फल्यो । सोचे अनुसार नै फल्यो । भाउ पनि राम्रो आयो । 

भन्छिन्– ‘मलाइ दोस्रो सिजनको तरकारीले हौसला दियो, दाम पनि आयो ।’

कमलाले कृषि फर्म दर्ता गरिन्– बसन्त बहुउद्देश्यीय कृषि फर्म  । 

कमलाले मल कसरी हाल्ने, बिउ कस्तो रोप्ने, रोगकीरा लागे के गर्ने भन्ने सबै सिकिन् । अनुभवले नै धेरै चिज सिकायो । 

तरकारी खेतीले कमलाको परिवारमा बहार आयो, आत्मविश्वाश बढायो । तर, ०७२ सालको भूकम्पले कमलाको आत्मबल गिरायो । धेरै मानिसले काठमाडौं छाडे, तरकारी बिक्री घट्यो, भाउ पनि घट्यो ।

भूकम्पले दिएको आर्थिक धक्का राम्ररी झेल्न नपाउँदै भारतले नेपालमा नाकावन्दी लगाइदियो । तरकारी खेतीलाई अर्काे धक्का लाग्यो । 

तर, कमलाले हार मानिनन् । निरन्तर तरकारी खेती गरिरहिन् । 

कमलाले एक रोपनी जग्गामा थालेको तरकारी खेती आज सात रोपनीमा फैलिएको छ । मनग्ये आम्दानी हुन थालेको छ । कमला भन्छिन्– ‘माइतीले भन्न थालेका छन्– यो छोरी होइन छोरा हो ।’ 

कमलाले दहचोकमा जग्गा किनिन्, दुई तले घर बनाएकी छिन् । यो सबै भाडाको जग्गामा गरिएको तरकारी खेतीको कमाल हो ।

प्रतिकृया दिनुहोस