स्याब्बास कांग्रेस ! ठिक बाटो समात्यौ, अब यही बाटो हिँड ।
नेपाली कांग्रेसले संसद अवरोध बन्द गरेको छ । संसदीय गतिविधि तथा प्रकृयालाई निर्वाध चल्न दिने निर्णय गरेको छ । कांग्रेसको यो सही निर्णय हो । कांग्रेसबाट संसदीय अवरोध र गतिरोधको अपेक्षा गरिएको थिएन । विगतमा त कांग्रेसले यस्तो काम गर्ला भनेर कल्पना गर्नेहरु पनि विरलै थिए होलान् । तर, सारा जनताको अपेक्षा विपति कांग्रेसले संसद वैठक अवरुद्ध गरिदियो । वैठक अवरोध गरेर कांग्रेसले चरम सैद्धान्तिक विचलन र दिवालियापन प्रदर्शन गरेको थियो । तर, केही दिनभित्रै कांग्रेसले आफूलाई सच्याएको छ । कांग्रेसले पुन ठिक बाटो पक्रिएको छ ।
राजनीतिक दलहरुले काम गर्छन्, त्यसैले गल्ती पनि गर्छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस नेपालको संसदीय प्रणालीका मियो हुन् । यिनले बाटो विराए लोकतन्त्रले बाटो बिराउन सक्छ । यी दुई पार्टीले विगतमा हजारौं हजार गल्ती गरेका छन् तर आफूलाई निरन्तर सच्याएका पनि छन् । त्यसैले यी दुई पार्टी नै आजको नेपालका मूल राजनीतिक धार बनेका छन् । यिनमा आउने व्यवहारिक विचलनले खासै दूरगामी असर नगर्न सक्छ तर सैद्धान्तिक विचलनले मुलुकलाई दिर्घकालीन प्रभाव पार्न सक्छ । कांग्रेसले गरेको संसद अवरोध सैद्धान्तिक विचलन थियो, त्यसैले त्यस उपर सर्वत्र चिन्ता छाएको थियो ।
खासगरी नयाँ संविधान बनेर नयाँ राजनीतिक कोर्स सुरु भएपछि कांग्रेस र नेकपा जस्ता जिम्मेवार दलहरुले संसदमा गतिरोध गर्दैनन् भन्ने जनविश्वाश थियो । चुनावमा जनताले नेकपालाई सत्तापक्ष र कांग्रेसलाई प्रतिपक्षमा राखिदिए । दुवैले आआफ्नो भूमिका जिम्मेवारीसाथ निर्वाह गर्लान् भन्ने जनविश्वाश थियो । त्यस विपरित कांग्रेसले संसद अवरोध जस्तो पूरानो नेपालको महारोगलाई पुर्नजिवित गरिदियो । यो अत्यन्त चिन्ताको कुरा थियो । तथापि, जनभावनाको कदर गर्दै र आफ्नै पार्टीको अन्तरात्माको आदेश स्वीकार गर्दै संसदीय गतिरोधको कुबाटो कांग्रेसले त्यागेको छ ।
तर, प्रश्न उठ्छ– कांग्रेसले संसदीय गतिरोध हालका लागि मात्र खोलेको हो कि सदाका लागि ? यो प्रश्नको जवाफ कांग्रेसले दिनुपर्ने हुन्छ । कांग्रेसले संसदीय गतिरोधबाट पछि हट्ने निर्णय गर्दै गर्दा अर्काे झनै गम्भीर प्रकृतिको विचलन कांग्रेसमा देखिएको छ । उसको भ्रातृ संगठन नेवि संघले हिँसात्मक गतिविधि थालेको छ । आगजनी र तोडफोड हिजोको नेपालमा सामान्य थियो होला तर स्थिरता र शान्तिकाल बनाउनुपर्ने यो कालखण्डमा आगजनी र तोडफोड गम्भीर अपराध हो । आफ्नो भ्रातृ संगठनलाई हिँसात्मक बाटोमा पठाउने महागल्ती पनि कांग्रेसले तत्काल सच्याउनुपर्छ ।
संसदीय गतिरोध खोलेपछि प्रतिनिधिसभा वैठकमा कांग्रेस सांसद गगन थापाले अब प्रतिपक्षी कस्तो हुन्छ देखाइदिन्छौं भन्ने अभिव्यक्ति दिएका छन् । उनले कस्तो खालको प्रतिपक्षी बनेर देखाइदिने भनेका हुन् भन्ने प्रष्ट चाहिँ पारेनन् । नेवि संघले थालेको आगजनी र तोडफोडलाई नै उनले आगामी आन्दोलनको स्वरुप भनेका पक्कै होइनन् होला । कांग्रेसबाट रचनात्मक र प्रभावशाली प्रतिपक्षीको भूमिका जनताले अपेक्षा गरेका छन् । प्रमुख प्रतिपक्षी कस्तो हुन्छ भन्ने मानक स्थापित गर्ने मौका कांग्रेसलाई मिलेको छ । यो मौकको सदुपयोग कांग्रेसले गरोस्, दुरुपयोग नगरोस् । आफूलाई निरन्तर सच्याउँदै लैजाओस् ।
निष्कर्षमा के आग्रह गर्नुपर्ने हुन्छ भने कांग्रेसले भविष्यमा कहिल्यै संसदमा गतिरोध नगर्ने प्रतिवद्धता जनाउनुपर्छ । संसदमा बहुमतबाट निर्णय गर्ने बाटोमा कहिल्यै तगारो नबन्ने वाचा गर्नुपर्छ । अनि, रचनात्मक र शान्तिपूर्ण आन्दोलन कस्तो हुन्छ भन्ने उदाहरण पनि दिनैपर्छ । संसदमा आजबाट कांग्रेसले ठिक बाटो समातेको छ र अब यही बाटो हिँड्नुपर्छ ।


प्रतिकृया दिनुहोस