संस्कृत भाषाको अनुसन्धानमा अक्सफोर्ड विश्वविद्यालयले सहयोग गर्ने
काठमाडौँ । विश्वका उत्कृष्ट १० विश्वविद्यालयमध्येको एक अक्सफोर्ड विश्वविद्यालयले नेपाल रणनीति नै बनाएर पूर्वीय दर्शन एवं संस्कृतको अध्ययन अनुसन्धानमा सहयोग गर्ने भएको छ ।
मङ्गलबारदेखि राजधानीमा शुरु भएको अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठीमा अक्सफोर्ड विश्वविद्यालयमा संस्कृत प्राध्यापनरत नेपाली मूलका प्राध्यापक दिवाकर आचार्यले आफू यसको पूर्वाधार निर्माणकै लागि गृहकार्य गर्न हाल नेपाल आएको जानकारी दिए ।
संस्कृतमा रहेका ज्ञान–विज्ञानलाई बाहिर ल्याउन यो अवसर हुने भएकाले सहयोग गर्न उनले गोष्ठीका विद्वानहरुसँग आग्रह गरे । “२०० वर्षअघि सम्म सबै ज्ञान संस्कृतमै थियो, संस्कृतमा भएका शिल्पकला, वास्तुकलामा हाल कसैको ध्यान जान सकेको छैन, एउटा न्यातपोल मन्दिर निर्माणकै विषयको एक हजार ५०० पृष्ठको दस्तावेज राष्ट्रिय अभिलेखालयमा छ, तर त्यसका पाठक छैनन्, ज्ञान पुस्तकमै थन्केर बसेको छ,” उनले भने ।
योग र आयुर्वेदलाई व्यवस्थित रुपमा अध्यापन गराए धेरै देशका विद्यार्थीले नेपालमा पढ्न आउने इच्छा देखाएको प्राध्यापक आचार्यले सुनाए । जर्मनी, जापान हुँदै हाल बेलायतमा संस्कृत पढाउन पुग्दा धेरै देशका विद्यार्थीले पूर्वीय दर्शनका धेरै विषयको अध्ययन यहीँ आएर गर्न चाहेको सुनाउँदै उाले त्यसको वातावरण बनाउने काम सरकारको हो भने ।
अमेरिकाको सेन्ट्यागो विश्वविद्यालयमा तन्त्रका प्राध्यापक डा स्थानेश्वर तिमल्सिनाले अरू देशका प्राध्यापकले जति निष्ठाले त्यसअनुरुपको शिक्षण प्रणालीको विकास हुने क्रम कम हुँदै जाँदा नेपालमा संस्कृतलगायत समग्र शिक्षाकै स्तर खस्किएकोतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए ।
संयुक्त राष्ट्र सङ्घका लागि पूर्वस्थायी प्रतिनिधि डा जयराज आचार्यले नेपालमा योग र आयुर्वेद अध्यापनका लागि उपयुक्त केन्द्रको स्थापना हुनुपर्नेमा जोड दिए । विवेकानन्द सांस्कृतिक संस्थानका निर्देशक प्रा डा केदारनाथ शर्माले संस्कृतको विकासका लागि अध्ययन अनुसन्धान केन्द्रको स्थापना गरिनुपर्ने बताए ।
दोस्रो दिनको कार्यक्रममा प्रा डा माधव भट्टराईले ‘नेपाल–भारतको चिन्तन प्रणालीमा संस्कृतको प्रभाव’, प्रा भीमप्रसाद खतिवडाले ‘संस्कृत नाटक लेखन परम्परा’, प्रा डा साम्बराज आचार्यले ‘नेपालको ज्योतिष परम्परा’, आमोदवद्र्धन कौडिन्न्यायनले ‘संस्कृतमा योग र आयुर्वेद परम्परा’ लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
बिहीबारसम्म चल्ने गोष्ठीमा नेपाल र भारतका गरी ५०० भन्दा बढी विद्वान्को सहभागिता छ । कार्यक्रममा उठेका विषयवस्तुलाई समाहित गरी घोषणापत्र जारी गरिने जनाइएको छ । कार्यक्रममा वासुदेवकृष्ण शास्त्रीले फागु पूर्णिमाको महत्वका बारेमा प्रकाश पारेका थिए ।
लोकप्रिय
सम्बन्धित खवर
-
तिलगङ्गा क्षेत्रका बासिन्दा पशुपति क्षेत्र विकास कोषविरुद्ध धर्नामा बस्ने
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
७–८ वर्षदेखि पोल र ट्रान्सफर्मर मात्रै, घरमा अझै पुगेन बिजुली
-
सरकारसँग आक्रोशित कीर्तिपुरवासी : बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न माग


प्रतिकृया दिनुहोस