निरास नहुनुस्, अब वृद्धभत्ता बढाउँछौं— प्रम ओली
सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाइने घोषणा गरेका छन् । सिराहामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले आउँदो आर्थिक वर्षबाट वृद्धभत्ता बढाइने बताए । तर, वृद्धभत्ता कति बढाइने भन्ने चाहिँ उनले खुलाएनन् । निरास नहुन आग्रह गर्दै उनले भने— ‘ढुक्क हुनुहोस्, वृद्धभत्ता बढ्छ ।’
हेमनारायण यादवको पन्ध्रौं स्मृतिसभालाई आज सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । हेमनारायण तत्कालीन एमालेका सांसद थिए । २०६० साल माघ १९ मा उनको हत्या गरिएको थियो । धनुषा र सिराहाको सिमामा पर्ने कमला खोलामा उनको शव फेला परेको थियो ।
ओलीले हेमनारायको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए ।
स्मृतिसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले मधेसका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारका कामले ती सबै हल्लाको जवाफ दिने बताए । उनले भने— ‘हुलाकी सडक निमार्ण भइरहेको छ, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदैछ, तराई मधेस समृद्धि कार्यक्रम चलिरहेको छ । केही दिन अघिमात्र भद्रपुर विमानस्थलमा रात्रीकालीन उडान सेवा सुरु भएको छ । जनकपुरमा केही महिनामै यस्तो सेवा सुरु हुँदैछ ।’
तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरुको स्तरोन्नतिको काम आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरु गरिएको र अहिले काम धमाधम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले भने— ‘मधेसको विकास यो सरकारको मुख्य प्राथमिकतामध्ये हो।’
तराईको भौतिक विकास मात्र नभएर सामाजिक विकासका लागि पनि आफू क्रियाशील रहेको ओलीले बताए— ‘यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि मैले नै पहलकदमी लिएको छु । त्यसका लागि गत बैसाख ५ गते यस जिल्लाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु ।’
प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सिराहा जिल्ला पार्टी कार्यालय भवन र चन्द्र माध्यमिक विद्यालयको छात्रावास भवनको शिलान्यास गरेका छन् ।


प्रतिकृया दिनुहोस