अमेरिकी दूतावासले सन्दीपलाई बोलायो
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई काठमाडौं स्थित अमेरिकी राजदूतावासले फेरि बोलाएको छ ।
आज कार्यालय समयको सुरुवातमै उनको भिसा आवेदन अस्वीकार गरेको दूतावासले भिसा 'रिभ्यु' का लागि बोलाएको जानकारी नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले बताए ।
यसअघि दूतावासले सन्दीपको भिसा आवेदन अस्वीकार गरेको थियो । सन्दीपले यसबारेमा सामाजिक सञ्जाल ट्वीटरमा लेखेपछि यो विषय चर्चित बनेको थियो । उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।
यसअघि पनि अमेरिकी दूतावासले नेपालमा नाम चलेका व्यक्तित्वहरुको भिसा बिनाकारण अस्वीकार गर्ने गरेको थियो । यो सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीपले बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्दैछन् । सीपीएल आगामी सेप्टेम्बर ४ मा सुरु हुँदैछ ।
क्यानडाको ग्लोबल टी–२० लिग खेलेर सन्दीप सोमबार मात्रै काठमाडौं आएका हुन् । टोरन्टो नेशनलमा आवद्ध उनलले सुरुका खेलहरु गुमाएपनि चार खेलमा ५ विकेट लिन उनी सफल भएका थिए ।
क्यारेबियन प्रिमियर लिगको अघिल्लो सिजनमा सन्दीपले सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्सबाट खेलेका थिए ।


प्रतिकृया दिनुहोस