ग्लोबल टी–२० क्रिकेटको उपाधि सोमपालको टिम हक्सलाई
काठमाडौं । नेपाली फास्ट बलर सोमपाल कामी आबद्ध विनपेग हक्सले ग्लोबल टी–२० लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा भ्यानकुभर नाइटलाई सुपर ओभरमा हराउँदै हक्सले उपाधि जितेको हो ।
फाइनल खेलमा पनि सोमपाल टिममा परेनन् । अघिल्ला खेलमा कमजोर प्रदर्शन गरेका कारण उनी बाहिर थिए ।
तर, आफू आबद्ध टिमले क्यानडाको प्रतिष्ठित लिगका रुपमा रहेको प्रतियोगिता जितेसँगै सोमपाल पहिलो विदेशी लिग जित्ने खेलाडीका रुपमा रहे ।
यसअघि क्वालिफायर खेलमा सुरुआति ११ मा स्थान बनाउन नसकेका सोमपालले १२ औं खेलाडीका रुपमा मैदान प्रवेश गर्दै शाहिद अफ्रिदीको क्याच लिएका थिए ।
विनिपेग्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो । उसका लागि साइमान अनवरले ९० र क्रिस लिनले ३७ रन बनाए ।
भ्यानकुभर नाइट्सका आन्द्रे रसेलले ४ विकेट लिए ।
१९३ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको भ्यानकुभर पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रनमा रोकियो ।
भ्यानकुभरका कप्तान सोयब मल्लिकले ६४ र आन्द्रे रसेलले नट आउट ४६ नट बनाए ।
त्यसपछि खेल सुपर ओभरमा गयो ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको भ्यानकुभरले २ विकेट गुमाएर ९ रन बनाएको थियो ।
सुपर ओभरको पहिलो बलमा आन्द्रे रसेलले छक्का प्रहार गरेका थिए । दोस्रो बलमा एक रन लिए । तेस्रो बलमा लेग बाई मार्फत १ रन आएको थियो । चौथो बलमा रसेल आउट भएका थिए । पाँचौं बल डट भयो भने छैटौं बलमा भान डुर सेन आउट भए ।
१० रनको लक्ष्य पछ्याएको विनिपेग्सले २ बल बाँकी छँदै पुरा गर्याे
विनिपेगले ब्राम्प्टन उल्भ्लाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने भ्यानकुभर नाईट्सले ब्राम्प्टनलाई डकवर्थ हराएर फाइनल यात्रा तय गरेको थियो ।


प्रतिकृया दिनुहोस