• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

पानी एटिएमपछि ललितपुरमा ‘बीउ एटिएम’

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘बीउ एटिएम’ सञ्चालनमा ल्याएको छ ।

ललितपुर महानगरपालिकाले सहरी खेती साझेदारी कार्यक्रम अन्तर्गत कृषकहरुलाई उन्नतस्तरको बीउ एटिएममार्फत् उपलब्ध गराउने गरी सो एटिएम सञ्चालनमा ल्याएको हो । 

आइतबार ललितपुरमा एक कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो प्रविधिको उद्घाटन गरे । उनले सहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत बीउबिजन वितरणका लागि बीउ एटिएमको पनि व्यवस्था गरिएको स्पष्ट पारे । 

त्यसमा ३६ जातका तरकारी तथा फलफूलको उन्नत बीउ पाउने व्यवस्था पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । २०, ५० र १०० मूल्यका सफा नोट एटिएममा घुसाएपछि उनीहरुले चाहेअनुसारको बीउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बीउ प्राप्त गर्ने व्यवस्था सो एटिएममा गरिएको छ ।

ललितपुर महानगरपालिकाले नौ लाख रुपैयाँको लगानीमा स्थापना गरेको सो मेसिनको सेवा सबै वडामा सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ ।

ललितपुर महानगरपालिकाले यसअघि ‘पानी एटिएम’ पनि सञ्चालन गरिसकेको छ । मेयर महर्जनले सहरी क्षेत्रको उचित व्यवस्थापनका लागि ‘साइकल लेन’को व्यवस्था गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिए । 

कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव जिसीले प्रदेश र स्थानीय सरकारसँग मिलेर कृषि उत्पादनमा बढावा दिन नयाँ–नयाँ प्रविधिको विकास गर्न सरकार तयार रहेको बताए । उनले कृषिमा निर्भर मुलुकलाई अघि बढाउन कृषि क्षेत्रको विकासमा तीन वटै तहबीच मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए ।

प्रतिकृया दिनुहोस