लक्षित समूहका नागरिकले पाएनन् कोरोनोविरुद्धको खोप
नवलपुर । सरकारले ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाउन भनेपनि यहाँका लक्षित वर्ग त्यसबाट बञ्चित भएका छन् ।
सरकारले ०१३ जेठ २५ देखि ०१६ जेठ २५ सम्म जन्म भएका नागरिकलाई खोपको पहिलो मात्रा लगाउन देशभरी भेरोसेल खोप उपलब्ध गराएको थियो । सरकारले खोप उपलब्ध गराएपनि यहाँका लक्षित वर्ग खोप लगाउनबाट बञ्चित भएका हुन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा समेत जेठ २५ देखि २७ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइएको छ । नगरपालिकाअन्तर्गत पर्ने नवलपुर स्वास्थ्य चौकीले तोकिएको उमेर समूहका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा नदिएको पाइएको छ । मध्यविन्दु–३ का हुमनाथ पोखरेल एक घण्टा हिँडेर नवलपुर स्वास्थ्य चौकी पुगे पनि खोप लगाउन नपाएको बताउनुहुन्छ ।
'म ब्रम्हस्थानबाट यो चर्को घाममा हिँडेरै खोप लगाउनका लागि कोल्हुवाको नवलपुर हेल्थ पोस्ट पुगेँ', उहाँले भन्नुभयो, 'तर त्यहाँ पुगेपछि तपाईँको उमेरका व्यक्तिका लागि यो खोप होइन भनेर मलाई खोप लगाउनबाट बञ्चित गरियो ।' पोखरेलले देखाउनुभएको नागरिकताअनुसार उहाँको जन्म ०१३ जेठ २९ गते रहेको छ । सरकारले तोकेको उमेर समूहमा उहाँले खोप लगाउन पाउनुपर्ने भए पनि पोखरेल जस्तै ०१३ सालमा जन्मिएका धेरैले नवलपुर स्वास्थ्य चौकीबाट खोप लगाउन पाएनन् ।
उहाँ खोप लगाउन आफ्नो नगारिकता बोकेर स्वास्थ्य चौकी पुग्नुभएको थियो । अघिल्लो पटक खोप लगाउन जाने बेलामा उहाँलाई ६५ वर्ष नपुगेको भनेर फर्काइएको उल्लेख गर्दै पोखरेलले भन्नुभयो, 'अहिले फेरि ६५ वर्ष पुगिसक्नुभयो, तपाईलाई यो खोप लगाउन मिल्दैन भनेर फर्काइयो, तर अझै ६५ वर्ष पुगेको छैन म ।' त्यसो त अघिल्लो पटक ६५ वर्ष नपुगेका तर अहिले ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरु पनि खोपबाट बञ्चित भएका छन् ।
मध्यविन्दु—३ कै पशुपतिया चौधरीले आफ्नो जन्म २०१३ माघमा भए पनि स्वास्थ्य कार्यालयले खोप लगाउनबाट बञ्चित गरेको बताउनुभयो । उहाँ ६४ वर्ष पूरा हुन अझै आठ महिना बाँकी छ । 'यो व्यवहारिक निर्णय भएन । यसरी त हामीलाई अन्याय भयो', उहाँले भन्नुभयो, 'हामीले अघिल्लो पटक पनि खोप लगाउन पाएनौँ । अहिले सरकारले हाम्रै लागि भनेर तोकेर पठाएको खोपबाट समेत बञ्चित गराइयो ।'
सरकारले तोकेको लक्षित वर्गका व्यक्तिले खोप लगाउन नपाएकोबारे स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख केशवप्रसाद चापागाईले पालिकाले निर्णय गरेर खोप दिइएकोले आफूले केही भन्न नसक्ने बताउनुभयो । 'सरकारले तोकेको मापदण्ड पालना गरेर खोप दिनुपर्ने हो, तर स्थानीय पालिकाले कसरी खोप दिएका छन् । यसबारे मलाई जानकारी भएन', उहाँले भन्नुभयो, 'हामीले खोप लगाउने होइन, पालिकालाई खोप उपलब्ध गराएर समन्वय मात्रै गर्ने हो ।'
मध्यविन्दु नगरपालिकामा लक्षित वर्गले खोप लगाउन नपाएको विषयमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पोखरेलले कर्मचारीहरुमा स्पष्टता नहुँदा केहि व्यक्तिहरु फर्किनु परेको स्वीकार गर्नुभयो । 'स्वास्थ्य संस्थासँग राम्रो समन्वय नहुँदा लक्षित उमेरका व्यक्तिले खोप लगाउन छुट्नुभयो होला', उहाँले भन्नुभयो, 'त्यसलाई म्यानेज गर्न पाए राम्रो हुने थियो, आज पनि केही स्थानमा खोप लगाइदैछ, खोप लगाउन नपाएका लक्षित उमेर समूहका व्यक्तिलाई त्यहाँ पुर्याउन पाए हुने थियो ।' पोखरेलले प्राथमिक उपचार केन्द्र चोरमारा र नारायणी स्वास्थ्य चौकीमा शुक्रबार पनि खोप कार्यक्रम जारी रहेको बताउनुभयो ।
यद्यपि नवलपुर स्वास्थ्य चौकीका प्रमुख रामानन्द महतोले भने नगरपालिकाले आफूहरुलाई पठाएको परिपत्रअनुसार नै खोप लगाएको बताउनुभयो । 'नगरपालिकाले हामीलाई ०१४ सालदेखि ०१६ सालसम्म जन्मिएका व्यक्तिलाई खोप लगाउनू भनेर परिपत्र गरेको थियो', उहाँले भन्नुभयो, 'पहिलो दिनमा निर्देशनअनुसार काम गरेको र खोप रहने भएपछि बिहीबार अन्य उमेरका व्यक्तिलाई पनि खोप लगाएर पठायौँ ।'
पहिलो दिनमा टाढाबाट खोप लगाउन आएका लक्षित उमेर समूहका व्यक्तिलाई रित्तै फर्काएको नवलपुर स्वास्थ्य चौकीले बिहीबार ६० वर्ष भन्दा कम उमेरका व्यक्तिलाई समेत खोप लगाएको महतोले स्वीकार गर्नुभयो ।
लक्षित वर्गका व्यक्तिले खोप नपाएको बारे आफूलाई कुनै जानकारी नभएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । 'यदि खोप पाउनुपर्ने व्यक्ति छुट्नुभएको भए उहाँहरुलाई आगामी कार्यक्रममा प्राथमिकतामा राख्नेछौँ, उहाँहरुले आफ्नो खोप केन्द्रमा नाम टिपाउनुपर्छ', उहाँले भन्नुभयो, 'मानवीय त्रुटिले कोही व्यक्ति खोप लगाउन छुटेका होलान् । यो त्यति ठूलो विषय होइन ।' मध्यविन्दु नगरपालिकामा आठ सय ७५ जनालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइएको छ ।
—रासस


प्रतिकृया दिनुहोस