• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

१५ जना कैदीबन्दीलाई कोरोना

समाचार

समाचार

खलंगा । जुम्लाको कारागारमा पनि कोरोना संक्रमण फैलिएको छ ।

कारागारमा रहेका १५ जना कैदीबन्दीलाई पनि कोरोना संक्रमण देखिएको हो । कैदीबन्दीमा ज्वरो र खोकी लाग्ने भएपछि स्वाब संकलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण  देखिएको हो ।

कारागारभित्रका दुई महिला र एक सय २१ पुरुष गरी एक सय २३ जना कैदीबन्दीमध्ये १५ जना पुरुषलाई कोरोना संक्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, 'संक्रमित १५ जनामध्ये एक जना ७७ वर्षीय पुरुष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।' अन्य संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ । कारागारभित्रै आइसोलेट गरिएका कैदीबन्दीलाई भने सङ्क्रमणका लक्षण नदेखिएको जनाएको छ । 

आइतबारसम्म जुम्लाको कोरोना संक्रमितको संख्या चार सय ९६ पुगेको छ । यस्तै कोरोना संक्रमित दुई सय ५७ जनालाई निको भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जना उपचारार्थ रहेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि जुम्लामा संक्रमणबाट दुई जना जेष्ठ नागरिकको ज्यान गएको प्रशासनले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ । 

–रासस
 

प्रतिकृया दिनुहोस