झापामा शव व्यवस्थापनका लागि निस्कियो स्काउट टोली
झापा । नेपाली सेनासँगको सहकार्यमा जिल्लामा पहिलोपटक कोरोना संक्रमणबाट ज्यान भएका व्यक्तिको शव नेपाल स्काउटको टोलीले व्यवस्थापन गरेको छ ।
स्काउट प्रदेश नं १ का सदस्य अरूण बस्नेत नेतृत्वको टोलीले भद्रपुर–६ का ८४ वर्षीय वृद्धको कोरोना संक्रमणबाट ज्यान भएपछि सेनासँगको सहकार्यमा शनिबार शव व्यवस्थापन गरेको हो । कोरोना संक्रमितको मृत्युदर तीव्र हुँदै जाँदा सेनाले प्रशिक्षण दिएपछि पहिलोपटक स्काउट टोली शव व्यवस्थापनका लागि भद्रपुरबाट निस्किएको हो ।
जिल्लामा दमक, गौरादह, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज, कमल गाउँपालिकामा रामप्रसाद पौडेल, बिर्तामोड, कनकाई, अर्जुनधारा नगरपालिका, झापा, बुद्धशान्ति गाउँपालिकामा केशी श्रेष्ठ, मेचीनगर, भद्रपुर नगरपालिका, हल्दिबारी, बाह्रदशी, कचनकवल गाउँपालिकाका लागि भने अरुण बस्नेतलाई कोरोना संक्रमणबाट ज्यान गएका व्यक्तिको शव व्यवस्थापनका लागि संयोजकको रूपमा स्काउटले तोकेको छ ।
जिल्लामा शनिबार मात्र सात जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । एक वर्षको अवधिमा कोरोना संक्रमणबाट जिल्लामा दुई सय २५ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय झापाका स्रोत व्यक्ति जीवन चौलागाईँले बताउनुभयो ।
–रासस


प्रतिकृया दिनुहोस