गाउँमा उपचारमा खटिएका स्वास्थ्यकर्मीको अनुभव : मानिसहरु स्वअनुशासनमा बस्दैनन्
रामेछाप । ‘शहरका अस्पतालमा जस्तो गाउँमा कहाँ स्वास्थ्य सुरक्षाका सामाग्री हुनु, मान्छे बिरामी छ, उपचार नगरे मर्ने अवस्था हुन्छ, त्यसैले जोखिम मोलेरै पनि उपचार गरियो’, स्वास्थ्य चौकी चिसापानीको प्रमुख बलबहादुर केसीले सुनाउनुभयो ।
मन्थली नगरपालिका–८ चिसापानीमा एकै पटक ४० जनाभन्दा बढीमा कोभिड संक्रमण देखिएपछि स्वास्थ्यकर्मीलाई निक्कै समस्या पर्यो । आवश्यक सुरक्षाका सामाग्री नभएको अवस्थामा एकै पटक रोगले छोपेपछि स्वास्थ्यकर्मी चुप लागेर बस्न सकेनन् । स्वास्थ्य चौकीका इञ्चार्ज बलबहादुर केसी बिना पीपीई घरघरमा बिरामीको अवस्था बुझ्दै, जाँच गर्दै र उपचार गर्दै हिँड्नुभयो ।
उहाँलाई यति धेरै जोखिम मोलेर काम नगर्ने हो कि भनेर वडाध्यक्ष राजकुमार श्रेष्ठले सुझाव पनि दिनुभयो । तर उहाँको मन मानेन । ‘हामीले अलिकति जोखिम मोल्दा कसैको ज्यान बच्छ, स्वास्थ्यकर्मी अलिकति डराउँदा कसैको ज्यान नै जानसक्छ, त्यसैले अलिकति रिक्स पनि मोलियो’, केसीले भन्नुभयो ।
अहिले पनि गाउँमा संक्रमित हुनेको संख्या घटेको छैन । अझ बढ्दै छ । चिसापानीमा मात्रै ७८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमण पुष्टि भएका मध्ये एक जनाको ज्यान नै गयो । थप तीन जना लक्षण देखिएकोको परीक्षण नै हुननपाई ज्यान गयो । अझै धेरै मानिस बिरामी छन् । ‘उनीहरुको परीक्षण हुन सकेको छैन, परीक्षण गर्ने हो भने ती सबैमा संक्रमण पुष्टि हुन्छ’, केसीले भन्नुभयो ।
अहिले केसीको घरमा बास छैन । न त स्वास्थ्य संस्थामा नै बसेर काम गर्ने फुर्सद छ । उहाँलाई मान्छे बिरामी परे, लौन के गर्ने भनेर बारम्बार फोन आउने गरेका छन् । जताबाट फोन आयो, औषधी बोकेर उहाँ त्यतै दोडिइरहनु भएको छ ।
संक्रमितको प्रत्यक्ष रुपमा उपचार गराइरहनु भएका केसी सबैको आशीर्वादले होला सायद अहिलेसम्म आफू भने बिरामी पर्नुभएको छैन । ‘सबैको आशीर्वाद छ, त्यसैले जोगिएको छु जस्तो लाग्छ’, उहाँले भन्नुभयो ।
अहिले सुरुको अवस्थाको भन्दा स्वास्थ्य सामाग्री र सुरक्षाका सामाग्री पनि केही जुटेका छन् । त्यसैले काम गर्न केही सहज भएको केसी बताउनुहुन्छ । ‘अहिले केही पीपीई सेट पनि आएको छ, यसले सुरक्षित भएर काम गर्न सहयोग गर्छ, बिरामीलाई उपचारको लागि अक्सिजन ग्याँस लगायतका सामाग्री र औषधी पनि आएका छन्, यसले मानिसको ज्यान बचाउन सहयोग गर्छ’, उहाँले भन्नुभयो ।
आफू र सामाजिक अगुवाहरु रातदिन खट्दा पनि रोक नियन्त्रणमा आउनुको सट्टा बढ्दै गएकोमा भने केसीलाई चिन्तित बनाएको छ । ‘आइसोलेसन र क्वारेन्टाइनको मापदण्ड पूर्ण रुपमा पालना भएन, त्यसैले केस बढ्दै गएका छन्, अझ हामी सजक हुनु पर्ने अवस्था छ’, उहाँले भन्नुभयो ।
सबै मानिसहरु स्वःअनुशासनमा बसे रोग नियन्त्रणमा आउने उहाँको विश्वास छ । ‘कोभिडको लक्षण देखिएको मान्छे पनि हिँडिरहेको छ, पोजेटिभ रिपोर्ट आइसक्यो र पनि मलाई केही भएको छैन, बेकार जाँचेर दुःख दिए भनेर मान्छे हिँडेको छ, कति त गाउँका होटलमा रक्सी खाएर बसिरहेका छन्, अनि के गरी नियन्त्रण गर्न सकिन्छ ?’, उहाँले गुनासो गर्नुभयो ।
गाउँमा संक्रमणको अवस्था हेर्दा सबै जना क्वारेन्टाइन र संक्रमण पुष्टि भएका आइसोलेसनमा बस्नु पर्ने अवस्था रहेको उहाँको भनाइ छ । एक घरका मान्छे अर्को घरमा नजाने, बाख्रा बस्तु चराउने, घाँस पात गर्ने काममा पनि एक्ला एक्लै अलग अलग ठाउँमा जानुपर्ने उहाँको सुझाव छ । त्यस्तै केही दिनलाई गाउँका पसल तथा होटलहरु पूर्णरुपमा बन्द गर्न उहाँको आग्रह छ । ‘त्यसो गर्न सकियो भने रोग छिटो नियन्त्रणमा आउँछ’, उहाँले भन्नुभयो ।
अहिले गम्भीर बिरामीलाई अस्पताल जान सल्लाह दिने गरेको तथा सामान्य खालका बिरामीलाई गाउँमा नै होम आइससोलेसनमा राखेर उपचार र स्वास्थ्य सल्लाह दिइरहेको केसीले बताउनुभयो । ‘सचेतना अभिवृद्धिका काम गरिरहेका छौँ, सबैले हाम्रो सल्लाह मान्नुभयो भने आशा गरौँ केही दिनमा केस पनि घट्दै जाने छ’, केसीले भन्नुभयो ।


प्रतिकृया दिनुहोस