रामेछापमा जेठ २६ गतेसम्म थपियो निषेधाज्ञा
रामेछाप । रामेछापमा जारी निषेधाज्ञा आगामि जेठ २६ गतेसम्म थपिएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला स्तरीय कोडिभ–१९ संकट व्यवस्थाप केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
यसअघि घोषणा गरिएको निषेधाज्ञा जेठ २९ गते मध्यरातको १२ बजेबाट सकिँदै छ । अझै पनि कोभिड नियन्त्रणमा नआएकोले निषेधाज्ञा थप्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जारी गर्नुभएको निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ । बाहिर निस्कनै परे स्वास्थ्य मापदण्डको पूर्णपालना गर्न आदेश दिइएको छ ।
खाद्यन्न लगायत अत्यावश्यक सामाग्री पाइने पसलहरु बिहान तीन घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । खाद्यान्न सामाग्री तथा पशुपन्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरी जन्य उत्पादन, माछा, मासु, पानी र ग्याँस लगायतका अत्यावश्यक सामाग्री पाइने पसल बिहान पाँच बजेदेखि आठ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । यसअघि अत्यावश्यक सामाग्री पाइने पसल बिहान ६ बजेदेखि आठ बजेसम्म संचालन हुँदै आएका थिए ।
बैँक तथा वित्तीय संस्थाले स्वास्थ्य मापदण्ड पालन गरी आलोपालोमा न्यूनतम कर्मचारीबाट हप्ताको तीन दिन बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म अत्यावश्यक सेवाहरु प्रवाह गर्नुपर्नेछ । यसअघि बैँक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारीबाट बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म हप्ताको दुई दिन सेवा दिँदै आएका थिए ।
अत्यावश्यक सवारी साधन, ढुवानीका साधन सञ्चालन गर्न पाइने छ । औषधी पसल २४ घण्टै संचालन हुन पाउने छन् ।


प्रतिकृया दिनुहोस