• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कर्णालीमा ९५ प्रतिशत संक्रमितले जिते कोरोना

समाचार

समाचार

कर्णाली । पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या बढ्दै गएको छ ।

सोमबार मात्र कर्णाली प्रदेशमा पाँच सय १२ कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

कर्णालीमा हालसम्म एक लाख १५ हजार चार सय ३३ जनाको कोरोना संक्रमण परीक्षणमा १७ हजार एक सय ५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

संक्रमण देखिएको कूल संख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिनुभयो ।

'पछिल्लो २४ घण्टामा एक हजार एक सय १३ जनाको कोरोना परीक्षण गरिएकामा दुई सय ६ जनामा संक्रमण पुष्टि भएको छ', निर्देशक डा. खड्काले भन्नुभयो, 'कोरोना भाइरस सङ्क्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन् ।' ज्यान गुमाउनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक/एक रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका छ भेन्टिलेटरमा, ५३ आइसीयूमा, तीन सय ७० आइसोलेसन केन्द्रमा र पाँच हजार एक सय ७१ जना होमआइसोलेशनमा रहेका छन् ।

कर्णालीमा मृत्यु हुने संक्रमितको संख्या केही घटे पनि मर्ने क्रम नरोकिएकाले सोमबारसम्म दुई सय ४७ जना व्यक्तिको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

–रासस

 

प्रतिकृया दिनुहोस