• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कोभिड संक्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले जिल्लाका कोभिड संक्रमितलाई आयुर्वेदिक औषधि वितरण गर्ने भएको छ ।

स्वास्थ्य केन्द्रको अध्यक्षमा गोपाल श्रेष्ठ नियुक्त हुने बित्तिकै बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । श्रेष्ठलाई केही दिन अघि वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

कोभिडका संक्रमित बढेका र जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा संक्रमित र संक्रमितका परिवार स्वास्थ्य केन्द्रमा आउन नसक्ने भएकाले कोभिडका बिरामीलाई घर दैलोमा नै आयुर्वेदिक औषधिसहित मनोविमर्श सेवा पुर्याउने निर्णय गरिएको श्रेष्ठले बताउनुभयो । जिल्ला सदरमुकाममा स्वास्थ्य केन्द्रकै स्वास्थ्यकर्मीले घरघरमा पुगेर सेवा प्रवाह गर्ने उहाँले जानकारी दिनुभयो । मन्थली बाहिरका क्षेत्रमा जुन उपायबाट औषधी पुर्याउन सकिन्छ त्यो उपाय अवलम्बन गरिने उहाँले बताउनुभयो ।

बैठकले स्वास्थ्य केन्द्रलाई आयुर्वेदिक अस्पतालमा रुपान्तरण गर्ने प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ । अस्पताल भवन निर्माणको लागि आउने आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्नको लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको  छ ।

थप सेवा विस्तार र नयाँ नागरिक आरोग्य सेवा केन्द्र स्थापना तथा सञ्चालनका लागि समेत आवश्यक बजेट व्यवस्थापन गर्न बैठकले माग गर्ने निर्णय गरेको छ । सोही क्रममा प्रस्तावित आयुर्वेदिक अस्पताल परिसरमा स्वामिको विरुवा समेत रोपिएको थियो ।

 

प्रतिकृया दिनुहोस