ग्लोबल टी–२० क्रिकेट : सन्दीपको टोली टोरन्टो प्लेअफमा
काठमाडौं । क्यानाडमा जारी ग्लोबल टि–ट्वेन्टी क्रिकेट लिग क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टोली टोरन्टो नेसनल्स प्ले अफमा प्रवेश गरेको छ । बुधवार राति भएको दोस्रो चरणको अन्तिम खेलमा मोन्ट्रीयल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरन्टो प्ले अफमा पुगेको हो ।
टोरन्टोले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको मोन्ट्रीयल १९ ओभर ३ बलमा अलआउट हुदै १ सय ५४ रनमा समेटियो । मोन्टरियलका लागि म्याथ्यु क्रसले ३९, दिनेश चण्डीमालले ३६ केली कोट्जरले १८ र निखिल दत्तले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।
मोन्ट्रीयललाई सस्तैमा रोक्न टोरन्टोका मिचेल मेग्क्लेनघन र कृष ग्रीनले समान ३–३ र जेरोमी गार्डोनले २ विकेट लिए ।
त्यस्तै सन्दीपले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।
ग्लोबल टी २० प्रिमियर लिग क्रिकेटमा सन्दिपको यो तीन खेलमा तेस्रो विकेट हो ।
त्यसअघि सिएए क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको टोरन्टोले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको थियो । टोरन्टोका लागि रोड्रिगो थोमसले ७० र हेन्रीच क्लासेनले ६४ रन बनाए । मोन्ट्रीयलका थिसरा परेराले २ विकेट लिए ।
६ खेलमा ६ अंक बनाउन सफल भएको टोरन्टो लिगको तेस्रो स्थानमा रहदै प्ले अफमा पुगेको हो । ६ खेलमा ५ अंक जोडेको मोन्ट्रीयल भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अब टोरन्टोले टोरन्टोले अब प्ले अफ्मा अर्का नेपाली खेलाडी सोमपाल कामीको टिम वेनिपेग हक्सविरुद्ध खेल्नेछ ।
यसअघि समूह चरणमा पनि दुई टोली भिडेका थिए । सो खेलमा विनिङपेगले टोरन्टोलाई ३ विकेटले हराएको थियो ।
तर, त्यो खेलमा सन्दीप र सोमपाल दुवै जना आ आफ्ना टिमको पहिलो खेलमा परेका थिएनन् ।


प्रतिकृया दिनुहोस