एसइईमा प्रश्नपत्र र सेनेटरी प्याड दुबै बाँडिने
काठमाण्डौं, ३ चैत – यसवर्षको एसइई परिक्षा आउन ७ दिनमात्र बाँकि छ । परिक्षाको तयारीपनि लगभग पुरा भईसकेको छ । तर म्याग्दीमा भने एसइई परिक्षालाई लिएर फरक किसिमको तयारी भइरहेको छ ।
अर्थात् यसवर्षको एसइई परिक्षामा सहभागी हुने छात्रालाई परिक्षाकेन्द्रमा प्रश्नपत्र त दिइने छ नै, साथसाथै उनीहरुलाई सेनेटरी प्याडपनि दिइने भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनावारी भएकै कारण विद्यालय नजाने र पढाइ नै छोड्ने समेत गरेको तथ्यांक प्राप्त भएपछि, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले छात्राहरुको एसइई परिक्षा प्रभावित नहोस् भनेर सेनेटरी प्याड बाँड्ने भएको हो ।
‘छात्रा महिनावारी भएको समयमा विद्यालयमा सहभागी नहुने गरेको पाउने गरेका छौं, महिनावारीको समयमा कुनैपनि छात्राको एसइई परिक्षा प्रभावित नहोस् भन्नका लागी सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएका हौं’, मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले भनिन् ।
म्याग्दी जिल्लाबाट यसवर्ष दुई हजार दुई सय ४२ विद्यार्थी एसइई परिक्षामा सामेल भएका छन् । यि मध्ये एक हजार एक सय ११ जना छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरिदका लागी शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीलाई रू १५ हजारको चेक हस्तान्तरण समेत गरिसकेको छ ।


प्रतिकृया दिनुहोस