• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

महोत्तरीमा अहिलेसम्म ५९ को गयाे ज्यान, गाउँ सिल

समाचार

समाचार

जलेश्वर । कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको ज्यान गएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ ।

कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको ज्यान गइसकेको छ भने आजसम्म कूल एक हजार आठ  सय ९७ संक्रमित भएका छन् । पैँतीस जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइसोलेशनमा रहेका छन् । उहाँका अनुसार दुई सय ४० ले कोरोना जितेका छन् ।

यसैबीच जिल्लाको भंगाहा नगरपालिकाको एउटै वडामा ५० भन्दा बढी सङ्क्रमित फेला परेपछि सो वडालाई आज बिहानदेखि सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद भट्टराईका अनुसार भंगाहा–४ स्थित रामनगर बिर्तागाउँमा ५० भन्दा बढी सक्रिय संक्रमित फेला परेपछि आजदेखि सो गाउँलाई पूर्णरूपमा सिल गरिएको हो ।

सो गाउँमा आजदेखि बाहिरबाट कुनै पनि व्यक्तिको प्रवेश निषेध गरिएको छ । भित्रबाट बाहिर आउजाउसमेत पूर्ण प्रतिबन्ध लगाइएको प्रजिअ भट्टराईले बताउनुभयो ।

–रासस
 

प्रतिकृया दिनुहोस