सांसदहरुलाई प्रधानमन्त्रीको सुझाव— मन्त्रीहरुसँग सहकार्य गर्नुस्
काठमाडौं । सरकारले सही बाटो र सही नीति लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सही नीति लिएको हुनाले जनतामा नेकपाका सांसदहरुले निर्धक्क आफ्ना कुरा राख्ने र सरकारले हासिल गरेका उपलव्धीहरुको व्याख्या गर्नुपर्ने बताएका छन् ।
नेकपाका सांसदहरुसँगको छलफलमा ओलीले सो विचार राखेका हुन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले राष्ट्रिय सभामा नेकपाका सांसदहरुसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए । ‘पार्टीको नीति र विधि भित्र रहेर आफ्ना कुरा राख्नुस्’ प्रधानमन्त्री ओलीले भने ।
पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको प्रधानमन्त्री ओलीले स्वीकार गरे । तर, अब चाँडै एकता प्रकृयाले अन्तिम रुप लिने पनि ओलीले दावी गरे । एकता प्रकृया टुंगोमा पुगेपछि पार्टीका नीति निर्देशन, स्थानीय तहसम्म पुग्ने र स्थानीय तहहरुलाई निर्देशित गर्न सजिलो हुने प्रधानमन्त्री ओलीले बताए ।
समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने, सांसदहरुलाई विभिन्न बिषयमा प्रशिक्षित गरिने पनि उनले बताए । मन्त्रीहरुसँग घनिष्ट सम्वन्ध राखेर सहकार्य गर्न पनि ओलीले आफ्ना सांसदहरुलाई सुझाए । ‘कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुदैनन्, त्यसमा सांसदहरुले पूलको काम गरिदिनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ।


प्रतिकृया दिनुहोस