१३ औं सागको तयारी अनुगमन गर्न संसदीय उपसमिति गठन
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीका लागि संसदीय उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले सागको तयारीबारे अनुगमन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको हो ।
समितिकी सभापति जयपुरी घर्तीले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन समितिका सदस्य जीवनराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको उनले बताइन् । ‘प्रतियोगिता तोकिएको समयमा सफलतापूर्वक सम्पन्न हुने गरी तयारी गर्ने कार्यमा सरकारलाई सघाउ पु¥याउने उद्देश्यका उपसमिति गठन गरिएको हो’ घर्तीले भनिन् ।
उपसमितिमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद मरासिनी सदस्य रहेका छन् ।
उपसमितिलाई सागको तयारी लागि हुने कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिने कार्यादेश पनि दिइएको समितिकी सभापति घर्तीले बताइन् ।
बैठकमा समितिका सदस्यहरुले सो प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडीहरुको तयारीका लागि आवश्यक तालिम, प्रशिक्षणको उचित व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य खगराज अधिकारीले सो प्रतियोगिताका खेलाडीहरुको तयारी र पूर्वाधार विकासका लागि आवश्यक व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराए ।
समितिका अर्का सदस्य उमेश श्रेष्ठले सो खेलकुद प्रतियोगिताको तयारीका लागि अन्तराष्ट्रिय खेलकुद संघ, संस्थाहरुसँग सहयोग लिन पनि सरकारलाई सुझाव दिए । उनले देशको प्रतिष्ठासँग जोडिएको यस्ता खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने पनि स्पष्ट पारे ।
त्यसैगरी समितिका सदस्यहरुले खेलाडीहरुलाई आवश्यक पोषणको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका थिए ।
१३ औं साग आगामी मंसीर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।


प्रतिकृया दिनुहोस