• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

ग्लोबल टी–२० मा सोमपालको ‘डेब्यू’

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


काठमाडौं । पेसर सोमपाल कामीले क्यानडाको फ्रान्चाइज लिग ग्लोबल टी–२० मा ‘डेब्यू’ गरेका छन् । गएराती विन्नीपेग हक्सबाट खेल्दै उनी नेपालको तर्फबाट विदेशी फ्रान्चाइज लिग खेल्ने सन्दीप लामिछाने पछिका दोस्रा खेलाडी बने । 

एडमन्डन रोयल्स विरुद्धको खेलमा उनको प्रदर्शन उत्कृष्ट हुन नसकेपनि उनले ब्याटिङ र बलिङ गर्ने अवसर भने पाए । रनको वर्षा भएको खेलमा हक्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । आठौं नम्बरमा ब्याटिङ गर्नआएका सोमपालले ५ बलमा १ रन मात्र बनाउन सके । 

जवाफी ब्याटिङ गरेको रोयल्सले १७.४ ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनाइ खेल ८ विकेटले जित्यो । हक्सका सबै बलर महँगो साबित भएको अवस्थामा सोमपालले पनि २ ओभरमा ३३ रन दिइ कुनै विकेट लिन सकेनन् ।

त्यस्तै गएरातीकै अर्को खेलमा सन्दीप लामिछानेको टोली टोरन्टो नेशनल पनि पराजित भएको छ । प्लेअफमा पुग्न संघर्षरत टोरन्टो र शतप्रतिशत जित हातपारेको ब्राम्पटन उल्भस विरुद्धको खेलमा ४० ओभरमा कुल ४ सय ३३ रन बनेको थियो ।

उल्भसले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । सबै बलरहरु महँगा साबित भएको अवस्थामा सन्दीपले ४ ओभरमा १ विकेट लिइ ४४ रन खर्चिए । 

जवाफी ब्याटिङ गरेको टोरन्टोले २० ओभरमा ७ विकेट गुमाइ २ सय ११ रन मात्र बनाउन सकेपछि ११ रनले पराजित भएको छ ।
 
 

प्रतिकृया दिनुहोस