• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

मकैको तुलनामा बेसारबाट तेब्बर आम्दानी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

पाल्पा । दुःख गरेर मकै लगायो, सबै बाँदरले खाइदिन्छ । अरु कुनै अन्न पनि बाँदरले सबै मासिदिने । पाल्पा रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका किसानलाई बाँदरले सताउनु सताएको थियो ।

स्थानीय बासिन्दा पीरले गाउँ नै छाड्ने अवस्थामा पुगेका थिए । पीर नगरून् पनि कसरी ? दुःख गरेर अन्नबाली लगायो, बाँदरले मासिदिन्छ । हैरान थिए किसान । 

तर स्थानीय तहले यस्तो निर्णय गर्‍याे जुन निर्णयले गाउँमा खुसियाली आयो । जमिन बाँझो नरहने भयो । 

स्थानीय तहले निर्णय गर्‍याे– ‘मकै होइन, बेसार लगाऔँ । सहयोग हामी गर्छौं ।’ स्थानीय तहले बेसारको बिउ सहयोग गर्‍याे । किसानले बेसार खेती गरे ।

हैरान थिइन् सोही बस्तीकी शान्ति विक । शान्तिले १० रोपनी जग्गामा मकै खेती लगाउँथिन् । तर भित्र्याउन पाउँदैनथिन् । शान्तिको पीरको सीमा नै थिएन । 

स्थानीय तहको सहयोगमा उनले पनि बेसार खेती गर्न थालिन् । उनी भन्छिन्, ‘अहिले म सन्तुष्ट छु । मेरो बारी अब बाँझो हुँदैन । बेसार लगाएपछि बाँदरले पनि दुःख दिँदैन । बजार पनि राम्रो छ ।’

‘मैले खेती नै गर्न छाडेकी थिएँ’, शान्ति भन्छिन्, ‘तर अब म खुसी छु । मेरो जमिन बाँझो नरहने भयो ।’ अहिले साढे दुई रोपनी जग्गामा बेसार लगाएकी छिन् उनले । अब पूरै १० रोपनीमा बेसार लगाउने सोच छ उनको ।

वडा कार्यालयले आव ०७५/०७६ को बजेटबाट तीन लाख रुपैयाँको ३५ क्विन्टल बेसारको बीउ कृषकलाई उपलब्ध गराएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए ।

‘बारीबाटै मकै, गहुँ, केराउ, चनालगायतका अन्नबाली बाँदरले खाएर नष्ट पारेको गुनासो आएपछि विकल्पका रुपमा कार्यालयले जग्गा बाँझो नराख्न र कृषकले आम्दानी लिन सकिने गरी बेसार खेतीका लागि सहयोग गरेका हौँ’, उनले भने । बजारको व्यवस्थापन पनि वडा कार्यालयले गरिदिने उनको भनाइ छ ।
       
बाँदरले घरबारी नछाडेपछि अन्नबाली लगाउन छाडेर बेसार खेती सुुरु गरेको सावित्रा पंगेनी बताउँछिन् । मकैको तुलनामा दोब्बर–तेब्बर आम्दानी लिने गरी व्यावसायिक रुपमा बेसार खेती सुरु गरेको उनी बताउँछिन् । 

मलेङ, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराज टोलमा अन्नबाली बाँदरले खाएर नष्ट पारेपछि खेती लगाउन छाडेका जग्गा अहिले बेसारले हराभरा बनेका छन् ।
       
परीक्षणका रुपमा लगाइएको बेसार खेती राम्रो हुँदै गएको र अर्को वर्ष थप व्यवस्थित तरिकाबाट खेती गर्न कृषकलाई सहयोग गरिने वडा सचिव गीता पौडेलले बताइन् । 
  
बेसार खेती लगाउन वडा नम्बर ७ को कार्यालयले सहयोग गरेपछि गाउँ छाडेर बेँसी झरेका कृषक पनि पहिले खेती गर्दै आएका जग्गामा बेसार लगाउन थालेका छन् ।
       
बारीका पाटाभरि मकै लगाएर राम्रै आम्दानी गर्ने यदुनाथप्रसाद पंगेनीले बाँदरले सताएपछि पुरानो थाकथलो नै छाडेर खेतमा बसोबास गर्दै आएका छन् ।

वडा कार्यालयले बेसार खेतीका लागि बीउ सहयोग गरेपछि करिब दुई रोपनी क्षेत्रफलमा उनले बेसार लगाएका छन् । अर्को वर्ष बाँझिएको पूरै जग्गामा बेसार लगाउने उनको सोच छ । (राससको सहयोगमा)
 

प्रतिकृया दिनुहोस