कूटनीतिक व्रिफिङ : ओली सरकारले आफ्नो ‘पोजिसन क्लियर’ गर्यो
काठमाडौं । सरकारले नेपालमा रहेका कूटनीतिज्ञहरुलाई व्रिफिङ गरेको छ । राजधानीको अन्नपूर्ण होटलमा आयोजित विफ्रिङमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडा उपस्थित थिए । त्यसैगरी व्रिफिङमा केही उच्चपदस्थ कर्मचारीहरुका साथै परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो । सरकारले आउँदो चैतमा लगानी सम्मेलन गर्दैछ, मुख्य रुपमा त्यसलाई लक्षित गरी सरकारले कूटनीतिक व्रिफिङ कार्यक्रम राखेको बताइएको छ । यही कारण कूटनीतिक व्रिफिङमा अर्थमन्त्री खतिवडाको पनि उपस्थिति थियो ।
व्रिफिङमा मुख्य रुपमा परराष्ट्रमन्त्री ज्ञवालीले बोलेका थिए ।
ज्ञवालीले गत एक वर्षका बीचमा नेपालले हासिल गरेका कूटनीतिक उपलब्धीहरुका वारेमा बताउँदै विम्स्टेक सम्मेलनको सफल आयोजनाबारे व्याख्या गरेका थिए । उनले डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको सम्मेलनमा नेपालको सहभागिता उपलब्धीमूलक भएको धारणा राखेका थिए ।
भेनेजुयला सम्वन्धमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको विरुद्धमा विज्ञप्ति दिएको र त्यस लगत्तै सरकारले असंलग्नताको नीतिभित्र बसेर विज्ञप्ति दिएको परिप्रेक्षमा कूटनीतिक व्रिफिङलाई चासोसाथ हेरिएको थियो ।
व्रिफिङमा मन्त्री ज्ञवालीले राखेको लिखित मन्तव्यमा नेपालको असंलग्नताको नीतिलाई जोड दिँदै नेपालले आर्थिक कूटनीतिलाई प्राथमिकता दिने भनिएको छ । ज्ञवालीले मुख्यत आर्थिक कूटनीतिमै विचार केन्द्रित गरेको बताइएको छ ।
पश्चिमा कूटनीतिक नियोगहरुले प्रधानमन्त्री केपी ओली डाभोस भ्रमणमा रहेका बेला द्धन्दकालीन मुद्दाहरुमा नेपालले अख्तियार गर्नुपर्ने नीति सम्वन्धमा दवाबमूलक विज्ञप्ति दिएका थिए। जवाफमा ओलीले डाभोसबाटै कूटनीतिज्ञहरुको सो विज्ञप्तिमा ठाडो जवाफ फर्काएका थिए । यो परिप्रेक्षमा सरकारले कूटनीतिज्ञहरुलाई व्रिफिङ कार्यक्रम राखेको बुझिन्छ ।
सरकारले आफ्नो विदेश नीतिबारे ‘पोजिसन क्लियर’ गर्न कूटनीतिक व्रिफिङ गर्ने गर्छ । सरकारले विगतमा पनि कूटनीतिक व्रिफिङ गर्ने गरेको थियो ।
व्रिफिङमा अमेरिका र जापानका राजदूत उपस्थित नभएको बताइएको छ । नेपालले यस्ता कूटनीतिक व्रिफिङ भारत, चीन, वेलायत र अमेरिकाका राजदूत काठमाडौंमा भए नभएको ध्यानमा राखेर गर्ने गरेको छ । भारत, चीन र वेलायतका राजदूत भने व्रिफिङमा उपस्थित थिए ।


प्रतिकृया दिनुहोस