सुविधासम्पन्न कभर्डहल निर्माण
कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३ मा रु एक करोड ५० लाख लागतमा सुविधासम्पन्न कभर्डहल निर्माण गरिएको छ ।
राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता सञ्चालन गर्न र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नका लागि कभर्डहल निर्माण गरिएको हो । कभर्डहलमा दुई डे«सिङ रुम, शौचालयलगायतका संरचना निर्माण गरिएको नगरप्रमुख अशोककुमार चन्दले बताए ।
“कभर्डहलको बाह्य संरचना निर्माण भएर तयार भएको छ”, उनले भने, “भित्री संरचना बनाउन अझै बाँकी छ ।” चालू आवमा भित्री सबै संरचना बनाएर कभर्डहललाई सञ्चालनमा ल्याइने उनले बताए। कभर्डहलको लम्बाइ ४० फिट र चौडाइ ३० फिट रहेको छ । कभर्डहलसँगै आठ बिघा क्षेत्रफलको खेलमैदानसमेत रहेको छ । विसं २०७४ मा कभर्डहल निर्माणकार्य शुरु गरिएको थियो । नगरपालिकाले प्रत्येक वडामा एक खेलमैदान बनाउनका लागिसमेत काम अगाडि बढाएको बताएको छ ।
सिसीटिभी क्यामेरा जडान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएका छन् । रु चार लाख ६४ हजार लागतमा नगरपालिका कार्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएका हुन् ।
कामप्रति कर्मचारीलाई उत्तरदायी र अनुशासित बनाउनका लागि सिसीटिभी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताए । “कर्मचारीको गतिविधिमाथि निगरानी बढाउनुका साथै काम चुस्तदुरुस्त बनाउनका लागि सिसीटिभी क्यामेराले सहयोग पु¥याउनेछ भन्ने उद्देश्य लिएका छौँ”, अधिकृत थापाले भने, “नगरपालिका परिसर क्षेत्रको गतिविधिमाथिसमेत निगरानी राख्न सकिने गरी क्यामेरा जडान गरिएका छन् ।”
निगरानीका लागि १० क्यामेरा कार्यकक्षमा जडान गरिएका छन् । क्यामेराको कन्ट्रोलकक्ष नगरप्रमख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा राखिएको छ । नगरप्रमुख, उपप्रमुख र प्रवक्ताको कार्यकक्षमा भने सिसीटिभी क्यामेरा जडान गरिएका छैनन् । नपा प्रवक्ता जगतबहादुर सिंहले आवश्यकता नभएर नगरप्रमुख, उपप्रमुख र आफनो कार्यकक्षमा क्यामेरा जडान नगरिएको बताए ।


प्रतिकृया दिनुहोस