हुनेखानेको रोजाइ बन्दै फापर
जुम्ला । फापर जुम्लाको रैथाने बाली हो । कुनैबेला जुम्ला फापरले चिनिन्थ्यो । तर अहिले जुम्लामै फापरको संरक्षण हुन सकेको छैन । स्थानीय सरकारले पनि फापरको संरक्षणमा कुनै चासो दिएको छैन ।
फापर वर्षौंसम्म पनि बिग्रिँदैन । हिमाली र पहाडी क्षेत्रमा फापरको उत्पादन हुन्छ । तर मानिसको कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनि फापर घट्दै गएको छ ।
फापर विशेष गरी हिमाली तथा पहाडी क्षेत्रमा मंसिरको पहिलो सातादेखि कात्तिकसम्म बाली घरमा भण्डार गरिसकेपछि सर्वसाधारणले फापर लगाउने गर्छन् । तर पहिला फापर लगाउने बारी अहिले बाँझै छ ।
उत्पादन घटे पनि फापर अहिले प्रसिद्ध बन्दै गएको छ । फापरको उत्पादन घट्दै गए पनि यसको माग अहिले जुम्ला सदरमुकामका ठूलो स्टार होटलमा बाह्य तथा आन्तरिक पर्यटकको खानाको रोजाइमा परेको छ । फापरको माग अहिले अत्यधिक रहेको तिला गाउँपालिकाका कृषक माने बुढा बताउँछन् ।
उनले भने, ‘पहिला विपन्न वर्ग एवं समुदायको दैनिक आहाराका रूपमा फापर थियो । अहिले भने ठ्याक्कै उल्टो भएको छ । हुनेखानेको रोजाइमा पर्न थालेको छ फापर ।’
फापरमा मानिसको शरीरलाई आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले स्वास्थ्यका लागि पनि बहुउपयोगी भएको उनले बताए । उनका अनुसार मधुमेहजस्ता रोगीका बिरामीले पनि खान हुने भएकाले बजारमा फापरको अत्यधिक माग हुने गरेको छ ।
फापरबाट केक, रोटी, ढिँडोजस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु केक पनि बनाउने गरिन्छ । फापर खेतीको सम्भावनालाई स्थानीयबासीको आयआर्जन बढाउन यहाँका आठ स्थानीय सरकारले आफ्नो प्राथमिकतामा नपारेको नागरिक समाजका संयोजक राजबहादुर महतले बताए ।
जुम्लाबाट तराई बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश फापर उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीको सम्भावनालाई उजागर गर्न स्थानीय सरकारले वार्षिक नीति तथा कार्यक्रममा नै समावेश गरी यसलाई प्राथमिकतामा राख्दै जानुपर्ने समय भएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।
तिला गाउँपालिका क्षेत्र पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्य मानिन्छ । तिला क्षेत्रमा फापर उत्पादनमा अभिप्रेरित गर्ने कार्यक्रमका साथै यहाँका प्रत्येक होटलमा फापरको स्थानीय केकको परिकार राख्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागिएको अध्यक्ष योगीले जानकारी दिए ।
गाउँपालिकालाई फापरमा आत्मनिर्भर बनाउने लक्ष्यअनुरूप फापर खेतीको प्रवद्र्धन गर्न अनुदान योजना अघि सारेको गाउँपालिकाका नौ वटै वडामा एक÷एक वटा फापर गोड्ने उपकरण वितरण गर्ने सोच राखिएको योगीले बताए ।
गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष फापर उत्पादन गर्न किसानलाई अनुदानमा उपलब्ध गराएको कार्यक्रम समावेश भएकाले उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाका प्रवक्ता सन्तवीर रावतले बताए ।
(राससको सहयोगमा)


प्रतिकृया दिनुहोस