पोखरामा कराँते च्याम्पियनसिप हुने
पाेखरा । पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुल कन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्रान्ड च्याम्पियनसिप’ हुने भएको छ । नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
खेलको पहिचान, खेलाडीको उत्साह तथा प्रशिक्षकको परिश्रमबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी यस खेलप्रति सर्वसाधारणको आकर्षण बढाउन प्रतियोगिता गर्न लागिएको बताइएको छ ।
महासङ्घ अध्यक्ष दमन बस्नेतका अनुसार प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा पुरुष तथा महिला खुला तौल समूहमा महासङ्घमा आबद्ध सबै सङ्घका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोतिाको विजेताले नगद एक लाख, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
यसैबीच पोखरा रङ्गशालामा आगामी भदौ १३ र १४ गते दोस्रो गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता गरिने भएको छ ।
नेपाल क्योकुसिन कान कराँते सङ्घ कास्कीको आयोजनामा हुने प्रतियोगितामा क्योकुसिन बुदोकाई कराँते सङ्घमा आबद्ध महिला तथा पुरुष गरेर दुई सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ २५, ३०, ४०, ४५, ५० र ५५ केजीदेखि माथि ६० केजीमुनि तौल समूह र खुला तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने छ । महिलातर्फ ४० केजी, ४५ केजी मुनि तौल समूह र खुला तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक दीपकबहादुर गोदारले बताए ।


प्रतिकृया दिनुहोस