• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सिंगापुरसँग नेपाल पराजित, टी–२० विश्वकप पुग्ने सपना चकनाचुर

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । टी–२० विश्वकप पुग्ने लक्ष्यसहित सिंगापुरमा जारी एसियाली छनोट प्रतियोगितामा सहभागी नेपाल आयोजक सिंगापुरसँग ८२ रनले पराजित भएको छ । 

आजको हारपछि नेपाल विश्वकप अन्तर्गतको ग्लोबल क्वालिफायरमा पुग्न असफल भएको छ । नेपाललाई ८२ रनले हराएको सिंगापुरले भने आगामी अक्टोबर–नोभेम्बरमा युएईमा आयोजना हुने आईसीसी टी–२० ग्लोबल क्वालिफायरमा स्थान बनाएको छ ।

चार खेल खेलेको सिंगापुरले ७ अंक जोड्दै समूह विजेताको हैसियतमा अर्को चरण्मा पुगेको हो । नेपालले भने चार खेलमा २ हार व्योहोर्दै कुल ४ अंकसहित अंक तालिकामा तेस्राे स्थानमा सीमित भएको छ । त्यस्तै ४ अंक जोडेको कतार नेपालभन्दा राम्रो रनरेटका कारण अंक तालिकामा दोस्राे स्थानमा छ । 

आइतबार घरेलु मैदानमा भएको खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो । टोलीको लागि टिम डेबिडले ४३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७७ रन बनाए । त्यस्तै ओपनर रोहन रंगराजनले ३३ बलमा ३ चौका र ४ चौकासहित ४९ रन बनाए । विकेटकिपर मनप्रित सिंहले २७ बलमा ३ चौका र २ छक्का सहित ४२ रन बनाएपछि सिंगापुरले विशाल योगफल बनाउन सक्यो । 

बलिङतर्फ नेपालका लागि अविनाश बोहराले ४ ओभरमा ३५ रन खर्चदैं ४ विकेट लिए । त्यस्तै करन केसीले २ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको नेपालले जित हात पार्ने उद्देश्यले छिटो रन बनाउने क्रममा नियमित विकेट गुमाई २० ओभर पनि खेल्न सकेन । १ सय ९ रन बनाउने क्रममा सबै विकेट गुमाएको नेपालले १५ ओभर मात्र खेल्न सक्यो ।

नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले २१ बलमा ४ चौका र ३ छक्कासहित ३९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २२ बलमा १ चौका र १ छक्कासहित २३ रन बनाए भने सोमपाल कामीले ११ रन बनाए । 

बलिङतर्फ सिंगापुरका लागि सेल्लाडोर विजयकुमार ४ विकेट लिए भने विनोथ बस्करनको नाममा २ विकेट रह्यो । उत्कृष्ट ब्याटिङ गरेका टिम डेबिड प्लेयर अफ द म्याच चुनिए । 

 

 

प्रतिकृया दिनुहोस