रानी पोखरीभन्दा भाज्या पुखुः ५०० वर्ष पुरानो
भक्तपुर । भक्तपुर नगरपालिकाले जिर्णोद्धार थालेकाे भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको “ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक एवं अन्तरक्रिया” कार्यक्रममा सो पोखरी १२ औँ शताब्दीको भएको तथ्य उत्खननका क्रममा फेला परेको बताइएको छ ।
पोखरीको ८० पृष्ठ लामो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै इतिहासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तमलोचन श्रेष्ठले सात महीना लगाएर गरिएको अनुसन्धानबाट भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो रहेको तथ्य फेला परेको दाबी गरे । उनले भाज्या पोखरीबाट प्रभावित भएर नेसं ७९० (विसं १७२७) मा काठमाडौँको रानी पोखरी निर्माण भएको दाबी गरे । उनले भाज्या पुखुः र रानी पोखरीको वास्तुशैली, शिखर शैलीको मन्दिर उस्तै रहेको उनको भनाइ छ ।
ने.सं. ८०१ अर्थात विसं १७३८ मा जितामित्रको पालामा नेपालमण्डलमा आएको ठूलो भूकम्पले भाज्या पुखुः को शिखर शैलीको मन्दिर भत्काएपछि भग्नावशेषमा परिणत भएको उत्खनन र अन्वेषणबाट पत्ता लागेको बताउँदै डा श्रेष्ठले भाज्या पोखरी १२ आँै शताब्दी पुरानो रहेको बताए । नगरपालिकाले विसं २०५९ मा शुरु गरेको उत्खनन र २०७४/७५ मा शुरु गरेको पुनःनिर्माणका क्रममा बहुमूल्य वस्तुहरु भेटिएको बताउँदै उनले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रस्ट पारे ।
उत्खननका क्रममा पोखरीको बीचमा रहेको मन्दिरको गर्भावस्था रानीपोखरीको जस्तै भएको भनाइ राख्दै उहाँले पोखरीमा वास्तुशैलीअनुसार बैद्धिक वास्तुतन्त्र विधिबाट बनेको एउटा मात्रै बुर्जा भएको मन्दिर हुनुपर्ने भनाइ राखे ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले संरक्षणमा ध्यान नदिँदा कयौँ सम्पदाहरू लोप भइसकेको बताउँदै पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक सम्पदाहरू तथा पर्ती जग्गाहरू किनबेच हुने कार्य अन्त्य हुनुपर्ने औँल्याए । उनले सम्पदाहरूको ऐतिहासिकताबारे अध्ययन अनुसन्धान गरी जीर्णोद्धार र पुनःनिर्माण कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
लोकप्रिय
सम्बन्धित खवर
-
तिलगङ्गा क्षेत्रका बासिन्दा पशुपति क्षेत्र विकास कोषविरुद्ध धर्नामा बस्ने
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
७–८ वर्षदेखि पोल र ट्रान्सफर्मर मात्रै, घरमा अझै पुगेन बिजुली
-
सरकारसँग आक्रोशित कीर्तिपुरवासी : बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न माग


प्रतिकृया दिनुहोस