७ गोल खाँदै रियलको लज्जास्पद हार
एजेन्सी । विश्वचर्चित फुटबल क्लब रियल मेड्रिडले ७ गोल खाँदै लज्जास्पद हार व्यहोरेको छ । प्रि सिजनको मैत्रीपूर्ण खेलमा अर्को स्पेनिस क्लब एट्लेटिको मेड्रिडसँगको खेलमा कुल १० गोल भएको थियो ।
रियललाई हराउने क्रममा एट्लेटिकोका डिएगो कोस्टाले ४ गोल गरेका थिए । न्यूयोर्क शहरमा खेलिएको उक्त खेलमा रियल ७–३ गोल अन्तरले पराजित भयो ।
खेलको १ मिनेटमै कोस्टाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसपछि आठौं मिनेटमा जोआओ फेलिक्सले गोल गरे भने १९ औं मिनेटमा एन्जल कार्रियाले गोल गरेपछि एट्लेटिकोले ३ गोलको अग्रता लिएको थियो । कोस्टाले पुनः २८ मिनेटमा दोश्रो गोल गरेभने ४५ औं मिनेटमा पेनाल्टी मार्फत् गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । उनको उक्त सफलतासँगै पहिलो हाफमा एट्लेटिकोले ५–० को अग्रता कायम गर्न सक्यो ।
दोश्रो हाफमा पनि सोही लय कायम गर्दै खेलको ५१ औं मिनेटमा कोस्टाले एक गोल थपेका थिए । ५९ औं मिनेटमा नाचोले रियलको लागि गोल गरेपछि रियलले राहत पाएको थियो ।
खेलको ६५ औं मिनेटमा रातो कार्ड पाइ कोस्टाले मैदान छोडेपनि एट्लेटिकोको लागि भिटोलोले गोल गर्दै गोल संख्या ७ पु¥याए । कोस्टासँगै रियलका डेनिएल कार्चाजल पनि रातो कार्ड पाएका थिए ।
खेलअवधि भर दबावमा रहेको रियलको लागि ८५ औं मिनेटमा करिम बेन्जामिनले पेनाल्टीमार्फत् गोल गरेभने जाभियर हर्नान्डेजले ८९ औं मिनेटमा गोल गरे ।
सिजन सुरु हुन अघि ठुलो पराजयले रियलका प्रशिक्षक जिनेदान जिदान दबावमा परेको विश्लेषण भइरहेको छ ।


प्रतिकृया दिनुहोस