• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कुवेतविरुद्ध नेपालको सानदार जित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । जित्नैपर्ने दबाब रहेको खेलमा नेपालले आक्रामक ब्याटिङ प्रस्तुत गर्दै कुवेतविरुद्ध जित हात पारेको छ । टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले २५ बल बाँकी रहँदै ३ विकेट गुमाउँदै पूरा गरेको छ । 

सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । 

अन्तिम २ ओभरमा ३० रन जोडेको कुवेतका लागि कप्तान माेहम्मद काशिफले ३६ बलमा २ चौका र ४ छक्कासहित नटआउट ४९ रन बनाए । त्यस्तै अदनान इद्रिसले २५ रन बनाए भने मोहम्मद असलमले २३ रन बनाए । रविजा सन्दरुवानले १५ र विलाल ताहिरले १३ रन बनाएपछि कुवेतले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । 

बलिङतर्फ नेपालका लागि वसन्त रेग्मीले ४ ओभर बलिङ गर्दै २० रन दिँदै ३ विकेट लिए । त्यस्तै स्टार लेगस्पिनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २१ रन दिँदै ३ विकेट लिए । करन केसीले २ र अविनाश बोहराले १ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको नेपालले १५.५ ओभरमा लक्ष्य पूरा गर्ने क्रममा ३ विकेट गुमाएर १ सय ४३ रन बनाउँदै जित हात पारेको छ । 

नेपालका लागि ओपनर तथा कप्तान पारस खड्काले शानदार ब्याटिङ गर्दै ४२ बलमा ११ चौका र १ छक्कासहित ६८ रन बनाए । पारसले पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ३.५ ओभरमा ४४ रनको साझेदारी गरे । ज्ञानेन्द्रले १३ बलमा २ चौका र १ छक्का सहित १९ रन बनाए । तेस्राे विकेटका लागि पारसले शरद भेषवाकरसँग ७८ रनको साझेदारी गरेपछि नेपालको जित लगभग सुनिश्चित भएको थियो ।

शरदले ३० बलमा ४ चौका र १ छक्कासहित नटआउट ३८ रन बनाए । शरदले नेपालका लागि विजयी छक्का प्रहार गरे । रोहित पौडेलले नटआउट ७ रन बनाए ।

बलिङतर्फ कुवेतका कप्तान मुहम्मद काशिफले ३ विकेट लिए । २.५ ओभरमा ३० रन खर्चेका उनलाई ठूलो सट प्रहार गर्ने क्रममा तीन जना नेपाली ब्याटसम्यान क्याचआउट भएका थिए ।  

उत्कृष्ट ब्याटिङ गरेका पारस प्लेयर अफ द म्याच चुनिए । 

जितसँगै नेपालको ३ खेलमा ४ अंक भएको छ । यो सँगै उपाधिको होडबाट मलेसिया, कुवेत र कतार बाहिरिइसकेका छन् ।

नेपाल र सिंगापुरबीच भोलि अर्थात् आइतबार हुने खेलबाट प्रतियोगिताको विजेता र युएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा एसिया क्षेत्रबाट छनौट हुने टोलीको टुंगो लाग्ने छ । भोलिको खेल नेपाली समयअनुसार बिहान ७ः१५ मा हुने छ । 

प्रतिकृया दिनुहोस