• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

यसरी लयमा फर्किए ज्ञानेन्द्र मल्ल

सनराइज टिप्पणी

सनराइज टिप्पणी

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा जमेका ज्ञानेन्द्र मल्ल पछिल्ला वर्षहरुमा जिम्मेवारी अनुसारको भुमिका निभाउन असफल देखिएका थिए ।

नेपाली टोलीलाई विश्वकपसम्म पु¥याउने तत्कालिन प्रशिक्षक पुबुदु दासानायाकेको लक्ष्यलाई साकार बनाउने योद्धा पनि थिए, ज्ञानेन्द्र । पछिल्ला प्रतियोगिताहरुमा भने उनको शैली चल्न छोडेको विश्लेषण भइरहेको थियो ।

बुधबार मलेसिया विरुद्धको खेलमा आफ्नो वास्तविक खेल शैली अनुसार खेलेका ज्ञानेन्द्रले नेपाली टोलीलाई अर्को सफलता देखाउने छाँट देखाएका छन् । २० बलमा अर्धशतक पुरा गरेका उनले तिब्र गतिमा अर्धशतक बनाउने कीर्तिमान पनि कायम गरेका छन् । उनको यो ‘कमब्याक’ मा भने नेपाली क्रिकेट टोलीका नयाँ प्रशिक्षक उमेश पटवालको सूत्रले काम गरेको बताईन्छ । पटवालले विशेषगरी ज्ञानेन्द्रलाई खुलेर खेल्न र शटको छनौट गर्नको लागि विशेष प्रशिक्षण दिएका थिए । 

पटवालले नेपाली टोली सम्हाले यता नेपाली खेलाडीको शैलीमा काम गर्दै खेलाडीको क्षमता पहिचानमा उनले समय खर्चेका थिए । उनले विश्व क्रिकेटमा पछिल्लो समय चलिरहेको आधुनिक शैली आत्मसाथ गर्दै सिनियर खेलाडीहरुलाई बढि जिम्मेवारी दिने रणनीति अख्तियार गरेसँगै ज्ञानेन्द्रको खेल शैली परिवर्तन भएको देखिएको छ । 

सन् २००५ मा उनले यू–१५ टोलीको लागि खेल्दा नै तत्कालिन प्रशिक्षक रोय डायसले ज्ञानेन्द्रलाई क्षमतावान खेलाडी भन्दै ‘डेब्यू’ खेलमै प्रमुख ब्याटसम्यानको जिम्मेवारी दिएका थिए । कलिलै उमेरमा ब्याटिङ कौशलले सफलता चुमेका उनको शैलीलाई प्रशंसा गर्नेको सूची डायसमै सिमित छैन । 

त्यसपछि प्रशिक्षक बनेका पुबुदुले पनि उनलाई सधैं प्रमुख ब्याटसम्यानको दर्जा दिएका थिए भने नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्ट बनेर आएका अष्टे«लियन प्रशिक्षक रायन ह्यारिसले पनि उनलाई ‘नेपाली माटोको उत्कृष्ट खोज’ भनेका थिए । त्यतिबेला नेपाली टोलीमा रहेको खेलाडीमध्ये ज्ञानेन्द्रको कौशलबाट प्रभावित ह्यारिसले उनीजस्तो राम्रो खेलाडी नेपाली टोलीमा हुनु सकारात्मक रहेको बताएका थिए । 

सन् २०१४ को विश्वकपको खेलहरुमा पनि उनको शैलीको प्रशंसामा टेलिभिजन कमेन्टेटरहरु थुप्रै शब्दहरु खर्चिएका थिए । उमेर समुह हुँदै सिनियर टोलीसम्म आइपुग्दा उनलाई आक्रामक र प्राविधिक ब्याटसम्यानको रुपमा हेरिएको थियो । प्राविधिक रुपमा अब्बल उनको खेल शैलीले उनलाई सदैब माथिल्लो क्रममा ब्याटिङ गर्ने जिम्मेवारी प्राप्त भइरहेको छ । 

तीनै ज्ञानेन्द्र पछिल्लो समय चौतर्फी आलोचनाको शिकार भइरहनुको पछाडि उनले आफ्नो आक्रामक शैलीको विपरित खेल्नु नै भएको विश्लेषण हुनेगरेको थियो । क्रिकेट भविष्यनै जोखिम परिसकेका उनले बुधबार मलेसिया विरुद्ध आफ्नो पहिचान अनुसारको खेल देखाउँदै लयमा फर्किएको सन्देश दिएका छन् ।

उनको गुमेको आत्मविश्वास फर्कनुमा प्रशिक्षक पटवालले उनीसँग बिताएको समयले काम गरेको बताईएको छ । पटवालले ज्ञानेन्द्र मात्र होइन विनोद भण्डारीलाई पनि खेलको क्रममा सधैं दोहो¥याउने गल्ती सुधार्न सुझाउनुको साथै खुलेर खेल्न आग्रह गरेको विनोदले बताएका छन् । 

मलेसिया विरुद्धको टी–२० सिरिजमा विनोदले २५ बलमा अर्धशतक प्रहार गर्दै सुधारिएको खेल देखाएका थिए । बुधबार मलेसिया विरुद्धको खेलमा पनि उनले नटआउट १३ रन बनाए । यसअघि ज्ञानेन्द्र र विनोद दुबैजना खुलेर खेल्न नसकेर दबावमा पर्दै र गलत शट प्रहार गर्दै आउट हुने गरेका थिए ।

यी दुई खेलाडी फर्ममा आउनु नेपाली क्रिकेटको लागि सुखद खबर भएको विश्लेषण भइरहेको छ । कप्तान पारस खड्का ढाडको समस्याको कारण यो प्रतियोगितामा राम्रोसँग खेल्न नसक्ने छाँट देखिइसकेको छ ।

यस्तोमा यी दुई सिनियर खेलाडीले उनको कमी पुरा गर्दै नेपाललाई आगामी अक्टोबर–नोभेम्बरमा महिनामा युएईमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबर क्वालिफायरसम्म पु¥याउने दायित्व बोक्नु पर्नेछ । 

सिंगापुरमा जारी एसियाली क्षेत्रको अन्तिम छनौट जित्नु नै विश्वकप पुग्ने एकमात्र बाटो रहेकोले नेपाललाई गल्ती गर्ने छुट नभएको पारस खड्काले बताइसकेका छन् । अब दुई खेल खेल्न बाँकी रहेको नेपालले दुबैमा जित दर्ता गर्दै अघि लाग्नुपर्नेछ । 

पूर्व प्रशिक्षक रोय डायसले नेपाली खेलाडीलाई ब्याट समाउन सिकाएको र पुबुदुले नेपाली खेलाडीलाई ‘एक्सपोजर’ दिएर सफलता दिलाएको बताईन्छ । पटवालले भने नेपाली क्रिकेटमा भएको अनावश्यक राजनीतिक र खेलाडीहरुको व्यक्तीगत कारणले आत्मविश्वास गुमाइरहेका खेलाडीको मनोबल बढाउँदैै सफलता दिलाउन प्रशस्तै समय खर्चिरहेका छन् । 

उनको प्रयास सफल भएमा नेपाली क्रिकेटले फेरी एकपटक विश्वकपमा स्थान बनाउन सक्ने यस क्षेत्रका जानकारहरुले बताइरहेका छन् ।


 

प्रतिकृया दिनुहोस