व्यापारीलाई प्रेमको ‘हनिट्रयाप’, झण्डै गुम्यो ४० लाख !
काठमाडौं । झापाका एक व्यापारीलाई अपरिचित महिलाले फोन गर्छिन् ।
‘मेरो नाम जया खान ।’ अपरिचित महिलाले फोनमा आफ्नो परिचय दिन्छिन् । तीन–चार दिन लगातार कुरा हुन्छ ।
पाँचौ दिनबाट इमोमा ‘भिडियो कल’ सुरु भयो । भिडियो कल गर्दा ती महिलाको रुप देखेपछि व्यापारी मन्त्रमुग्ध हुन्छन् ।
जब भेट्न बोलाइन्
असार २८ देखि लगातार इमोमा कुरा हुँदै थियो । १ साउनको साँझ महिलाले ती व्यापारीलाई झापाको बिर्तामोड नगरपालिका–४ मा रहेको कुमारी बैंक नजिकै भेट्न बोलाउँछिन् । व्यापारी खुसी हुँदै त्यहाँ पुग्छन् ।
भेटेपछि महिलाले ती व्यापारीलाई ‘भित्रपट्टि मेरो साथीको कोठा छ, त्यहीँ जाऊँ’ भन्छिन् । उनले महिलाको प्रस्ताव सहजै माने ।
कुमारी बैंकछेउको गल्लीभित्रको घरको उक्त कोठामा व्यापारी र महिला पुग्दा रातको १० बजेको थियो । कोठाको साँचो युवतीसँगै थियो ।
कोठा पुगेपछि
उनीहरू कोठामा छिरेका मात्रै के थिए, तीन अपरिचित पुरुष हतियारसहित आएर व्यापारीलाई नियन्त्रणमा लिए । कुटपिट गरे, नांगै बनाएर व्यापारीको भिडियो खिचे । अनि भने, ‘४० लाख नदिए सामाजिक सञ्जालमा भिडिओ भाइरल बनाइदिन्छौं ।’
एक जना चिनेको साथीको रोहबरमा पाँच साउनमा ४० लाख बुझाउने शर्तमा त्यो रात व्यापारी मुक्त भए । भोलिपल्ट उनी इलाका प्रहरी कार्यालय अनारमनी झापामा पुगेका थिए ।
यसरी हनिट्रयापिङमा पारेर व्यापारीसँग ४० लाख असुल्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा हनिट्रयापका लागि प्रयोग गरिएकी रितु फिया लिम्बूसहित चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख (डिएसपी) मोहनकुमार थापाले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा झापा बिर्तामोड–४ का मेराज खान, इलाम फाकफोकथुमकी रितु फियाक लिम्बू, भारत पश्चिम बंगालका सुजन शंकर र बिर्तामोडका प्रकाश दास छन् ।
ती व्यापारीलाई आफ्नै साथीले युवती प्रयोग गरेर हनिट्रयापिङ गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
सञ्जु क्षेत्री भन्ने सुजन शंकरले अह्राए अनुसार नै रितु फियाक लिम्बूले झापाको बिर्तामोड–४ बस्ने व्यापारीसँग मोबाइलमा कुरा गरेकी थिइन् ।
रितु फियाकसँग भेट्न व्यापारी सहमत भएपछि सुजन शंकरले भद्रपुर रोड कुमारी बैंक नकिजैको घरको कोठाको चाबी दिएर उनलाई त्यहाँ भेट्न पठाएका थिए ।
१ साउनमा व्यापारी हनिट्रयापमा परेपछि सुजन शंकरको समूहले पीडितले चिनेको मानिस मेराज खानलाई बोलाएका थिए । त्यो रात उनी मेराजकै जिम्मामा छुटे ।
व्यापारीलाई कोही नभएको खाली कोठामा पु¥याएपछि रितु फियाकलाई प्रतिवादीमध्येका प्रकाश दासले चारपानेस्थित दिदीको घरमा स्कुटरमा लगेर छाडिदिएको डिएसपी मोहन थापाले बताएका छन् ।
‘त्यो समूहले पहिला ५० लाख मागेको र पछि ४० लाखमा सहमति भएको खुलेको छ’, डिएसपी थापाले भने, ‘पैसा नदिए मार्ने धम्की दिएको पीडितले हामीसँग बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस