• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नेपाल प्रहरीले बनायो गोप्य ‘मार्सल टिम’ 

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । एक लाख रुपैयाँ घुससहित चार प्रहरी जवान सामाखुसीस्थित एक मिठाई पसलबाट रंगेहात पक्राउ परे । घुस लिने प्रहरी नै थिए, पक्राउ गर्ने पनि प्रहरी नै थिए । 

प्रहरीलाई घुस दिनेहरू धमाधम पक्राउ परिरहेको बेला भएको यो घटना अनौठो थियो । 

प्रहरीलाई कसैले पनि घुस दिने हिम्मत गर्न छाडेका थिए । घुस दिनेलाई ‘नो’ भन्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने संस्थागत सिस्टम विकास भइसकेको थियो ।  

यति हुँदाहुँदै पनि प्रहरीले गडबडी गर्छन् कि ? 

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष निगरानीमा रहने गरी एक ‘मार्सल टिम’ बनाएको छ । डिएसपीको कमान्डमा रहेको उक्त टिमले प्रहरीका देशभरका युनिटमा कुनै गलत काम भएमा ‘एक्सन लिने’ कार्यादेश पाएको छ । 

‘कोभर्ट अपरेसन’ (गाेप्य अपरेसन) समेत गर्नुपर्ने हुनाले प्रहरी महानिरीक्षकको सचिवालयले उक्त टिममा रहनेहरूको नाम गोप्य राखेको छ । 

‘कसैले आचरण विपरीतको काम गरेमा पक्राउ गर्ने र आइजिपी खनाललाई प्रतिवेदन दिने गरी मार्सल टिम खटिएको हो’, प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने, ‘मार्सल टिमले सिधै प्रहरी महानिरीक्षकलाई रिपोर्ट गर्ने कार्यादेश पाएको छ ।’ 

प्रहरी कर्मचारीले प्रहरी नियमावली विपरीत काम गरेमा त्यस्ता प्रहरी कर्मचारीलाई पक्राउ गरेर आइजिपीसमक्ष पेस गरिने बताइएको छ । 

‘मार्सल टिममा काबिल अफिसरहरू छन्’, प्रहरी महानिरीक्षकको सचिवालमा कार्यरत एक प्रहरी अधिकृतले भने, ‘साधन स्रोत सम्पन्न सो टिमले देशभर जुनसुकै बेला अपरेसन गर्न सक्छ ।’ 
 

प्रतिकृया दिनुहोस