• २३ मङ्सिर २०७६, सोमबार
  • Monday,09 December,2019

बधाई र स्याब्बास् भन्न लायक एउटा काम

खबर स‌ंवाददाता

राष्ट्रिय सभाको काम छैन, राष्ट्रिय सभा नभए पनि केही फरक पर्दैन, राष्ट्रिय सभा बोझ हो- यस्ता विचार पनि आउने गरेको छ । राष्ट्रिय सभा औचित्यहीन छ भन्ने विचार संविधानसभाकालमा पनि बलियोसँग उठेको हो । तर, तथ्यले आज अर्कै देखायो । राष्ट्रिय सभाले आज देशलाई नै बाटो देखायो । राष्ट्रिय सभाले प्रतिनिधिसभालाई समेत एउटा सुन्दर पाठ सिकायो । 

राष्ट्रिय सभाले देशलाई देखाएको बाटो हो– प्राकृतिक प्रकोप तथा विपत्तिमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ । सभामा सत्ता र प्रतिपक्षका सांसदहरुले संयुक्त रुपमा प्राकृतिक विपत्ति सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राखे । छलफल गरे । र, आवश्यक कदम चाल्न सम्बन्धित निकायहरुलाई सर्वसम्मत् निर्देशन समेत दिए । 

यो असाधारण घटना हो । यस्तो घटना बारम्बार हुनुपर्छ, तर, विरलै मात्र हुने गरेको छ । 

राष्ट्रिय सभा बुज्रुकहरुको सभा मानिन्छ । बेलायतमा खास परिस्थितिमा राष्ट्रिय सभा अर्थात् माथिल्लो सदनको विकास भएको हो । स्वयं बेलायतमै पनि यसको आवश्यकता र औचित्यमा बारम्बार प्रश्न नउठेको होइन । तैपनि वेस्टमिन्स्टरियल प्रणाली अपनाउने देशहरु सबैले माथिल्लो सदनको व्यवस्था अनुकरण तथा अनुशरण गरेका छन् । 

बुज्रुकहरुको सभा, परिपक्वहरुको सभा, विवेकीहरुको सभा हुने भएकैले माथिल्लो सदनको सान्दर्भिकता घट्नुको सट्टा बढेको तथ्यलाई इन्कार गर्न सकिँदैन । नेपालमा विगतमा पनि राष्ट्रिय सभा परिपक्व सभाका रुपमा स्थापित भइसकेको थियो । तर, हामीले त्यो संसदीय प्रणाली भत्कायौं । बल्लतल्ल नयाँ संविधान मार्फत् त्यस्तै संसदीय प्रणाली पुनस्थापित गरेका छौं । 

राजनीतिमा ज्ञानभन्दा ठूलो विवेक हो । सूचना प्रविधिको यति विकास भएको छ कि आफूलाई चाहिएको कुनै पनि विषयको जानकारी तत्काल हासिल गर्न सकिन्छ । तर, विवेक भनेको ज्ञानभन्दा धेरै माथिको चिज हो । राष्ट्रिय सभाबाट देश तथा समाजले विवेकको अपेक्षा राख्छ । र, त्यस्तै विवेकपूर्ण सन्देश राष्ट्रिय सभाले आज प्रवाह गरेको छ । 

राष्ट्रिय सभाको आजको निर्णय अर्थात् सत्तापक्ष र प्रतिपक्षले संयुक्त रुपमा राखेको सार्वजनिक महत्वको प्रस्तावलाई केही अन्य सन्दर्भसँग जोडेर हेरियो भनेमात्र यसको महत्व बुझ्न सकिन्छ ।

यस्तै प्रस्ताव प्रतिनिधिसभामा पनि दर्ता गरिएको थियो । तर, प्रतिपक्षले मात्र प्रस्ताव ल्याउन खोजेको थियो । सत्तापक्ष र प्रतिपक्ष बीच आपसी द्धन्द आफ्नै ठाउँमा छ । तर, प्राकृतिक प्रकोप जस्तो विषयमा सत्तापक्ष संवेदनशील छैन भनेजस्तो पार्न प्रस्ताव ल्याउन खोजिएको थियो । वस्तुत त्यो विवेकपूर्ण प्रयास थिएन । त्यो प्रस्ताव सत्तापक्षले मानेनन । फलतः प्रतिनिधि सभा बैठक नै बस्न सकेन । राष्ट्रिय सभामा पनि एकपक्षीय रुपमा प्रस्ताव दर्ता गरिएको थियो । अन्ततः त्यो प्रस्तावको ठाउँमा संयुक्त प्रस्ताव ल्याएर राष्ट्रिय सभाले विवेकपूर्ण निर्णय गरेको छ । यो निर्णयको गहिरो राजनीतिक अर्थ, मर्म र विशिष्ट सन्देश छ । 

राष्ट्रिय सभाको भूमिका प्रतिनिधि सभाबाट सिक्ने भन्दा पनि प्रतिनिधि सभालाई सिकाउने हुनुपर्छ । राष्ट्रिय सभाको व्यवस्था गरिनुको एउटा मर्म यो पनि हो । राष्ट्रिय सभाका हरेक सदस्यले यो मर्म आत्मसात गरिरहनुपर्छ । कस्ता विषयमा राजनीतिक द्धन्द गर्ने, कस्ता विषयमा राजनीतिभन्दा माथि उठेर व्यवहार गर्ने भन्ने कुनै कानुन या लिखित दस्तावेज हुँदैन । यो सबै विवेकले निर्धारण गर्ने हो । बुद्धिले सत्तापक्ष र प्रतिपक्ष भन्दो हो तर विवेकले सत्ता र प्रतिपक्षभन्दा माथि उठ्नुपर्छ भन्छ । र, राष्ट्रिय सभाका सदस्यहरुले विवेकको आवाज सुनेका छन् ।

नेपालमा संसदीय प्रणालीलाई मिलन विन्दु बनाउनुको सट्टा बिग्रहको प्रस्थान विन्दु बनाउन खोजियो । जसको परिणाम मुलुकले भोगिसकेको छ । पछिल्लो चुनावपछि पनि संसदभित्र एकता भन्दा अनेकता खोज्ने दुष्प्रयत्न गरिँदै आएको देखिन्छ । खासगरी प्रतिनिधि सभामा अपरिपक्वता प्रदर्शन हुँदै आएको तथ्यवोध सबैलाई भएकै हो । राष्ट्रिय सभाको छलफलको स्तर हुनपर्ने जति स्तरीय नभए पनि धेरै हदसम्म परिमार्जित र उन्नत देखिँदै आएको हो । आज संयुक्त रुपमा ल्याइएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले राष्ट्रिय सभाको गरिमा र मर्यादालाई अझ बढाएको छ । 

प्रतिनिधि सभा मूलत बुद्धिले बहस गर्ने ठाउँ हो तर राष्ट्रिय सभा विवेकले बहस गर्ने ठाउँ बन्नुपर्छ । त्यो बाटोमा राष्ट्रिय सभा जान खोजेको प्रतित हुन्छ । यसका लागि राष्ट्रिय सभा तथा यसका सदस्यहरुलाई दिल खोलेर बधाई तथा स्याब्बास भन्नुपर्छ ।

प्रतिकृया दिनुहोस