• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

बाढी पीडित पशुपक्षीको उद्धार गरी उपचार

रासस

रासस

रौतहट । बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका पाचँ सय भन्दा बढी जनावरकाे उद्धार गरी उपचार गरिएको छ । 

केही दिनदेखिको अविरल वर्षा तथा बाढीपछि डुबानमा परेका बस्ती, बाढीमा फसेका जनावरका लागि सहायता गरिएको हो ।

पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल भेटेरिनरी एसाेसिएसनले संयुुक्तरूपमा बाढी तथा डुबानमा परेका तराईका रौतहट, बारा तथा सप्तरी जिल्लाका प्रभावित पशुपक्षीका साथै जनावरलाई बाढीपछि पशुमा फैलन सक्ने महामारी नियन्त्रणका लागि आवश्यक खोप लगाइएको छ ।

स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले प्राकृतिक विपत्तिका समयमा मानवीय सहायताका लगि पहल हुने भए पनि पशुपक्षीका लागि खासै चासो नराखिने भएकाले विभिन्न जिल्लामा पशुपक्षीको उद्धार तथा उपचार गरिएको जानकारी दिए । 

नेपाल भेटेरिनरी एसाेसिएसनका अध्यक्ष डा शीतलकाजी श्रेष्ठले वर्षापछि प्रभावित क्षेत्रका ती जिल्लामा आपत्कालीन सहायताका लागि भेटेरीनरी औषधि, र्‍याफ्टिङ डुुङ्गा (बोट) सहित आवश्यक सामग्री लिएर फिल्डमा उद्धार कार्यका लागि जुटेको बताए ।

हाल दुवै संस्थाका गरी १४ जनाको टोली निरन्तररूपमा तराईका जिल्लामा सहायताका लागि खटिएको स्नेहाज केयरका कार्यकारी निर्देशक कपिल काफ्लेले बताए । आगामी दिनमा अन्य बाढी प्रभावित क्षेत्रमा समेत पशुपक्षीको उद्धार गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस