• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

डिएसपी कुमोध ढुंगेल हराए, अख्तियारले खोज्दै छ

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’ भनेर कहलिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेल अहिले बेपत्ता छन् । उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । 

कहाँ छन् कुमोध ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई धुइँपत्ताल खोजिरहेको छ । तर, फेला परेका छैनन् । चलनचल्तीको भाषामा उनी ‘फरार’ छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन गरिरहेको छ । 

अख्तियारले पत्र पठाएर कुमोधलाई उपस्थित हुन बारम्बार भन्यो । तर, उनी अख्तियारको सम्पर्कमा नै पुगेनन् । त्यसपछि अख्तियारले प्रहरी प्रधान कार्यालयलाई नै पत्र लेख्यो, ‘कुमोध ढुंगेललाई उपस्थित गराउनु ।’

गत चैत २६ मा काठमाडौंको रानीबारीमा लालेन्द्र शेरचनको घरमा रहस्यमय डकैती भएको थियो । डकैतीमा विक्रम श्रेष्ठ संलग्न भएको देखियो । प्रहरीले उनका बारे खोजबिन गर्दै जाँदा पत्ता लाग्यो, विकाससँग कुमोधको गहिरो सम्बन्ध छ । त्यसपछि कुमोधलाई प्रहरीबाट निलम्बन गरियो ।

१९ वैशाखमा कुमोध निलम्बित भएका थिए । त्यसपछि यो प्रकरणमा अख्तियारले समेत हात हाल्यो । ढुंगेलको अकुत सम्पत्तिबारे छानबिन भइरहेको अख्तियारका एक उच्च अधिकृतले सनराइज खबरलाई जानकारी दिए । 

पटकपटक सम्पर्क गर्दासमेत उपस्थित नभएको भन्दै अख्तियारले ढुंगेललाई पक्राउ गरेर उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । 

आइतबार (असार २९) मा आयोगले प्रहरी प्रधान कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘डिएसपी कुमोध ढुंगेलसँग केही कुरा बुझ्नुपर्ने भएको हुँदा खोजतलास गरेर अख्तियारको कार्यालय टंगालस्थित ३ नम्बर कोठामा उपस्थित गराउनुहुन निर्देशनानुसार अनुरोध गरिएको छ ।’

""

अख्तियारको पत्रपछि ढुंगेललाई पक्रन प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरीलाई पत्राचार गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले ढुंगेललाई खोजतलास गरेर उपस्थित गराउन प्रहरी प्रधान कार्यालयबाट पत्र आएको सनराइज खबरसँग पुष्टि गरे । 

तलबी खातामा अस्वाभाविक रकम 

पछिल्लो समय काठमाडौं बाहिरका जिल्लाहरुमा काम गर्दै आएका ढुंगेलको बैंक खातामा अस्वाभाविक रकम देखिएपछि आयोगले उनीमाथि अकुत सम्पत्तिमा छानबिन थालेको होे । 

राष्ट्रिय वाणिज्य बैंकमा रहेकाे उनको तलबी खातामा समेत अस्वाभाविक रकम जम्मा भएको अनुसन्धानबाट खुलेको छ । 

रानीबारी डकैतीका अभियुक्तसँग गहिरो सम्बन्ध देखिएको भए पनि सो डकैतीको अभियोगमा कुमोधलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालयले अस्वीकार गरेको थियो । रानीबारी लुटपाटमा पक्राउ परेका विक्रम श्रेष्ठले लुटपाट भएकै दिन डिएसपी ढुंगेललाई महाराजगन्जस्थित भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका थिए । 

महाराजगन्जको भेनस रेस्टुरेन्टमा कुमोधले आफ्नै लगानीमा चलाएका हुन् । 

‘हामी कुमोधलाई खोज्दै छौं’, एक प्रहरी अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस