मलको अभाव
कञ्चनपुर । किसानलाई धान रोप्ने चटारो भएकै बेला कञ्चनपुरमा रासायनिक मलको अभाव भएको छ ।
अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रासायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् ।
अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले मागअनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो ।
स्थानीय एग्रोभेट पसलबाट खरीद गरेको चर्को मूल्यको भारतीय मल गुणस्तरीय भए नभएको जानकारी नभए पनि किसान भारतीय मलको प्रयोग गर्न बाध्य छन् ।
शुक्लाफाँटा नगरपालिका–२ का किसान मनोज चौधरीले सरकारले उपलब्ध गराउने मल नपाउँदा भारतको निकटवर्ती बजारबाट ल्याइएको मल राखेर रोपाइँ गरेको बताए ।
कृषि सामग्री संस्थानले यस वर्ष डिएपी मल एक हजार चार सय ४३ मेट्रिकटन, युरिया एक हजार आठ सय तीन मेट्रिक टन र पोटास ३५ दशमलव सात सय ५० मेट्रिक टन मल आपूर्ति गरेको छ ।
ती मल जेठको पहिलो सातामै सकिएको संस्थानका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए ।
चैतदेखि जेठको पहिलो सातासम्म कम्पनीबाट डिएपी तीन सय ८४ मेट्रिक टन बिक्री भएको छ ।
“डिएपी दुई हजार मेट्रिक टन, युरिया दुई हजार पाँच सय टन र पोटास ७० मेट्रिक टन कम्पनीले आपूर्ति गर्ने लक्ष्य लिएको भए पनि समयमै खरीद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुन सकेन”, उनले भने ।
किसान मलको माग गर्दै कार्यालयसम्म पुग्छन् । मल नपाउँदा निराश भएर फकर्ने गरेको उनको भनाइ रहेको छ ।
धानखेतीका लागि ६ सय मेट्रिक टन युरिया भैरहवास्थित कार्यालयबाट ल्याउन लागेको कार्यालय प्रमुख शाहले बताए । उनका अनुसार जसमध्ये चार सय ५९ मेट्रिक टन युरिया आपूर्ति भइसकेको छ ।


प्रतिकृया दिनुहोस