• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

झाडी फाँडेर टिमुरखेती

रासस

रासस

स्याङ्जा । गल्याङ नगरपालिका– १० भिरालेका किसानले घरबारीको पाखो बारीमा रहेको झाडी फाँडेर सामूहिक टिमुरखेतीको सुरुआत गरेका छन् । 

बाँदर, मृगलगायतका जङ्गली जनावरले लगाएको खेतीबाली खाएर हैरान बनेका किसानले बारीमा खेती नै लगाउन छाडेका थिए ।

खेती नलगाएसँगै झाडी बनेको बारी भने यतिबेला किसानले फाँडेर चिटिक्क पारेका छन् । वडा कार्यालयले किसानलाई टिमुरखेतीका बारेमा जानकारी दिनुका साथै आवश्यक बिरुवासमेत उपलब्ध गराएपछि किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । 

भिरालेका ५० घर स्थानीयले देवीभञ्ज्याङ टिमुर व्यावसायिक कृषि समूह गठन गरी साढे एक हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै टिमुरखेती सुरु गरेका हुन् । करिब एक हजार दुई सय टिमुरका बिरुवा लगाएको टेकबहादुर सिंजालीले बताए । 

बाँदर, मृग, दुम्सीलगायतका जनावरले अन्नबाली रहन नदिएपछि टिमुरखेती सुरु गरेको सिंजालीले बताए । 

सामूहिक टिमुरखेतीमा लागेकी लीला सारुले बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जनसमेत गर्न सकिने भएकाले सामूहिक टिमुरखेतीमा लागेको बताइन् । टिमुरखेतीको सम्भावना देखेर आफूहरु यस खेतीमा लागेको उनले बताइन् ।

अघिल्लो वर्ष वडामा सात सय टिमुरका बिरुवा परीक्षणका रूपमा लगाइएको र टिमुरका लागि चाहिने खालको उपयुक्त हावापानी भएकाले यस वर्षदेखि व्यावसायिकरूपमा समूह बनाएर सुरु गरेको कृषक लक्ष्मण शाहीले बताए । 

टिमुरखेतीका लागि गाउँमै नर्सरी बनाएर बिरुवासमेत उत्पादन गरिएको शाहीले बताए ।  

वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले वडालाई जैविक वडाका रूपमा विकास गर्न कृषिका माध्यमबाट अगाडि बढिएको बताए । युवालाई विदेश पलायन हुनबाट रोक्न सामूहिक टिमुरखेती, सामूहिक कागतीखेती, कुरिलोखेतीलाई समेत वडाले प्राथमिकता दिएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस