• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भ्यान्टे कामी : जसले ३० वर्ष प्रहरीलाई छक्याए

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । एकजना अपराधी प्रहरीबाट कति समय लुकेर, भागेर बस्न सक्ला ? भ्यान्टे कामी त्यस्ता पात्र हुन् जसले ३० वर्ष निरन्तर प्रहरीलाई छक्याए ।

विदेश गएर लुकेका अपराधी समेत पक्राउ पर्छन्, नेपाल ल्याइन्छन् तर, भ्यान्टे कामी ३० वर्ष पक्राउ परेनन् ।

भ्यान्टे लमजुङका हुन् । अपराध गरेको तथा अदालतले जेल सजाय तोकेको ३० वर्षपछि मात्र उनी पक्राउ परे ।

के थियो अपराध ?

३ भदौ ०४६ को रात । आठ बजेको थियो । लमजुङको दूधपोखरी गाउँपालिका–४ स्थित बुध सिंहको कोदोबारीमा थिए वेदप्रसाद पोखरेल । 

वेदप्रसादले धेरै पैसा बोकेको भेउ पाउँछ भ्यान्टेसहित पाँच जनाको समूहले । उनीहरुले वेदप्रसादलाई लुट्ने योजना बनाउँछन् । अनि, भ्यान्टेको समूहले टाउकोमा ढुंगाले हिर्काएर वेदप्रसादलाई मार्छ । 

हत्यापछि वेदप्रसादको शव र झोला त्रिवेणीस्थित चेपे नदीको किनारमा लगेर फाल्छन् । हत्याराहरुले वेदप्रसादको साथमा फेला परेको चार हजार रुपैयाँ बाँडीचुँडी लिन्छन् ! 

३० वर्षअघि चार हजार रुपैयाँ सानो रकम थिएन ।

त्यो फैसला

गोरखा घर भई तनहुँको भानु नगरपालिका–८ तुरतुरे बस्ने वेदप्रसादको परिवारका सदस्य कृष्णप्रसाद पोखरेलले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन्छन् । २०४६ असोजमा लमजुङ जिल्ला अदालतमा खुनडाँका मुद्दा दर्ता हुन्छ । 

हत्यापछि भ्यान्टे फरार हुन्छन् । 

अदालतबाट २०४८ फागुन १३ गते भ्यान्टेको अनुपस्थितिमै उनलाई २० वर्ष कैदको फैसला हुन्छ । जिल्ला अदालतबाट फैसलापछि सर्वोच्चबाट समेत २० वर्ष कैदको सजाय सदर भयो । तर, भ्यान्टे फरार नै थिए । 

यसरी पक्राउ परे

लमजुङ प्रहरीका लागी भ्यान्टे कामीको हकमा अदालतले गरेको फैसला कार्यान्वयन गर्नु टाउको दुःखाइ बन्दै थियो । जिल्लामा हरेक वर्ष डिएसपी र अनुसन्धान अधिकृतहरु फेरबदल भइरहन्थे, तर भ्यान्टे फेला परेनन् ।

पछिल्लो समय लमजुङ प्रहरीको कमान्ड समाल्न पुगे डिएसपी रविन्द्रमान गुरुङ । उनले फैसला कार्यान्वयन हुँन बाकी र सुल्झन बाँकी मुद्दाका का फाइल पल्टाए । 

भ्यान्टे ज्युँदै छन् कि मरिसके ? प्रहरीलाई थाहा थिएन । प्रहरीले भ्यान्टेलाई खोज्न थाल्यो । 

भ्यान्टेका सम्बन्धमा प्रहरीले पहिलो खुसीको खबर पायो- भ्यान्टे ज्युँदै छन् । दोस्रो खबर पनि पायो- लुकेर हिँड्छन् र बेलाबखत घर पनि आउँछन् ।

डिएसपी रविन्द्रमान भन्छन्, ‘घरमा आएको सूचना आएपछि असार १३ गते नियन्त्रणमा लियौं ।’ 

कहाँ लुके ३० वर्ष ?

वेदप्रसादको हत्यापछि भ्यान्टे सिधै भारत पुगे । त्यतै लामो समय मजदुरी गरे । धेरै वर्ष उतै बिताएपछि उनी नेपाल आए, लुकेर घर पुगे । प्रहरी र गाउँलेले पत्तो पाएनन् । त्यसपछि नेपालतिरै मजदुरी गर्न थाले । 

भ्यान्टे कहिले भारत पुग्थे, कहिले पोखरा लगायतका ठाउँमा मजदुरी गर्थे । तर, उनी निकै लामो समयपछि मात्र घर जान्थे, लुकेर जान्थे । छिमेकीले समेत थाहा पाउँदैनथे ।  एक रात मात्रै घरमा बसेर काममा फर्किहाल्थे । 

साविक इलाम पोखरी गाविस–५, हाल दूधपोखरी गापा–४ मा भ्यान्टेका श्रीमती र छोराछोरी बस्थे । उमेरले ६० टेकेपछि उनलाई लाग्यो, ‘अब प्रहरीले मेरो अपराध बिर्सियो ।’ 

तर, व्यक्तिले भुले पनि प्रहरी संगठनले भ्यान्टेलाई भुलेको थिएन । उनलाई जेल सजाय गरिएको अदालती फैसलाको फाइलले ‘भ्यान्टे खोई’ भनेर निरन्तर खबरदारी गरिरहेको थियो । यो कुरा भ्यान्टेलाई थाहा थिएन ।

असार दोस्रो साता भ्यान्टे घर पुगेको खबर थाहा पाउनासाथ प्रहरी उनको घरमै पुग्यो । अनि हत्कडी लगायो । त्यो हत्कडीबाट जोगिन भ्यान्टेले ३० वर्ष प्रयास गरेका थिए । 

‘मजदुर भए पनि भ्यान्टे निकै बाठा रहेछन्’– प्रहरीको भनाइ छ । 

फन्दामा परेपछि प्रहरीले जान्न चाह्यो- ३० वर्ष भ्यान्टेले केके गर्यो ? कहाँकहाँ लुक्यो ? जति सोधे पनि उनले विस्तृत बताउन नचाहेको डिएसपी रविन्द्रमानले सनराइजखबरलाई जानकारी दिए । 

भ्यान्टे अहिले जेलमा छन् ।

प्रतिकृया दिनुहोस