२७ वर्षपछि इंग्ल्यान्डको परीक्षा
काठमाडाैं । क्रिकेटको जन्म इंग्ल्यान्डमा भएको हो । तर आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको १२ औँ सस्करणसम्म आइपुग्दा पनि इंग्ल्यान्डले उपाधि जित्न सकेको छैन ।
तीन पटक फाइनल पुगेको इंग्ल्यान्डले उपविजेतामै चित्त बुझाउनुपरेकाे छ । पहिलो पटक विश्वकप १९७५ इंइल्यान्डमा नै आयोजना गरिएको थियो । त्यस्तै त्यसपछिका तीन संस्करण पनि इंग्ल्यान्डले नै आयोजना गरेको थियो ।
एक दिवसीय विश्वकपले ४४ वर्षे लामो यात्रा गरिसकेको छ भने पाँच फरक विजेता पनि पाएको छ । सन् १९७५ मा इंग्ल्यान्डमा आयोजना भएर सुरु भएको एक दिवसीय विश्वकपमा हालसम्म अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका र वेस्ट इन्डिजले मात्र उपाधि जितेका छन् ।
अस्ट्रेलियाले पाँच पटक, भारत र वेस्ट इन्डिजले दुई दुई तथा श्रीलंका र पाकिस्तानले एक एक पटक विश्वकप जितेका छन् ।
इंग्ल्यान्ड सन् १९९२ को फाइनलमा पाकिस्तानसँग २२ रनले पराजित भएयता फाइनलमा पुग्न सकेको छैन। त्यसैले आज साविक विजेता अस्ट्रेलियासँगको सेमिफाइनल उसका लागि अग्निपरीक्षा सरह हुने छ ।
इंग्ल्यान्ड र अस्ट्रेलिया हालसम्म विश्वकपमा आठ पटक भिडेका छन् । जसमा इंग्ल्यान्ड दुई खेलमा विजयी हुँदा छ खेलमा पराजित भएको छ ।
इंग्ल्यान्ड आज २७ वर्षपछि फाइनल पुग्ने लक्ष्यका साथ अस्ट्रेलिया विरुद्ध मैदानमा उत्रँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे बर्मिङघममा हुने छ । आजको विजेताले उपाधिका लागि जुलाई १४ मा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।


प्रतिकृया दिनुहोस