टी-ट्वान्टी विश्वकप एसिया छनोट खेल्न जाने टोलीको बिदाइ
काठमाडौं । आइसीसी टी ट्वान्टी विश्वकप एसिया छनोट फाइनल खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले टोलीलाई बिदाइ गरेका हुन् । उनले नेपाली टोलीलाई सफलताको शुभकामना दिए ।
आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोटको फाइनल खेल सिङ्गापुरमा आयोजना हुँदै छ ।
फाइनल प्रतियोगिता तयारीका लागि नेपाली टोली सिङ्गापुर जानुअघि मलेसिया जाने छ । नेपाली टोली अहिले केहिबेरमा मलेसिया जान लागेको हो ।
मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्ने छ । नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुने छ ।
टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जाने छ । प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत सहभागी हुने छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्ने छ ।
त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्ने छ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदै छ ।


प्रतिकृया दिनुहोस