ओलीले छलेको एउटा प्रश्न, छल्दाछल्दै दिएको गहिरो जवाफ
काठमाडौं । स्वीजरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको वैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली शनिबार स्वदेश फर्कंदा विमानस्थलमा संचारकर्मीहरुले ओलीलाई केही प्रश्न सोधे । तीमध्ये एउटा प्रश्नलाई भने ओलीले चलाखीपूर्वक छले । अनि, छल्दाछल्दै गहिरो जवाफ पनि दिए ।
त्यो प्रश्न के थियो ? प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस नोटमा समेत त्यो प्रश्न उल्लेख छ । प्रश्न यसप्रकार छ– ‘प्रधानमन्त्रीज्यू, स्वीट्जरल्याण्ड गएकै बेला नेकपाका को(पाइलट पुष्पकमल दाहालले भेनेजुयलाको विषय र अमेरिकाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गर्नुभएको छ । यसमा सरकारको भनाई के हो ? यहाँलाई त्यो अवगत छ ? यदि छ भने त्यो टिप्पणी के हो ?’
यो प्रश्नमा ओलीले ‘भट्टराई कथा’ भने । ‘भट्टराई कथा’ बारे पनि प्रधानमन्त्रीको सचिवालयको प्रेस नोटमा उल्लेख छ । ओलीको भनाई थियो– ‘नेपाल कस्तो देश हो भने एकपल्ट कोही भट्टराई लडेर घाइते हुनुभएछ, त्यसबेला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । भट्टराई भन्ने वित्तिकै उहाँ बुझिने अवस्था थियो । हामी चिन्तित भयौैं । के भएछ भनेर बुझ्दाखेरि त कृष्णप्रसाद भट्टराईजीलाई केही पनि थाहा छैन, भट्टराई त भट्टराई तर अर्कै भट्टराई पो हुनुहुँदो रहेछ ।’
ओलीले अर्काे प्रकरण पनि भने । केही समय पहिले दुर्घटनामा ओलीको निधन भनेर कुनै एक मिडियामा आफ्नो फोटो हालेर समाचार आएको घटना सुनाए ।
भट्टराई घाइते र दुर्घटनामा ओलीको निधन प्रकरण प्रधानमन्त्री ओलीले सुनाउन त सुनाए तर यसले भेनेजुयला र अमेरिका सम्बन्धी प्रश्नको जवाफ अलिकति पनि बोकेको थिएन । वाकपटु ओलीले यी दुई प्रकरणलाई भेनेजुयला र अमेरिका प्रकरणमा कसरी जोड्लान् भनी उत्सुकतापूर्वक संचारकर्मीहरु सुनिरहेका थिए । दुई प्रकरण सुनाइसकेपछि ओलीले प्रश्नसँग जोड्दै भने– ‘राम्ररी नबुझिकन, नपढिकन प्रतिक्रिया दिनु वाञ्छनीय होला जस्तो मलाई लाग्दैन् ।’
जवाफकाे अर्थ
भेनेजुयला र अमेरिका सम्वन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले प्रश्न छलेर तथा नबोलेर पनि केही गहिरो जवाफ दिएका छन् । उनले मुख्यगरी तीनवटा जवाफ दिएका छन् । पहिलो जवाफ हो– अध्यक्ष प्रचण्डले भेनेजुयला सम्वन्धमा विज्ञप्ति जारी गर्दा आफूसँग सल्लाह गरेका छैनन् । विज्ञप्ति नपढी नबुझी जवाफ दिन्न भनेर ओलीले विज्ञप्ति सम्वन्धमा प्रचण्डले सल्लाह नगरेको इशारा गरे ।
प्रश्न छलेर ओलीले अर्काे जवाफ पनि दिए– भेनेजुयला प्रकरणमा अहिले सरकार बोल्न आवश्यक छैन । नपढी नबुझी जवाफ दिन्न भनेर प्रधानमन्त्री ओलीले भेनेजुयला सम्बन्धमा सरकार अहिले नै बोल्दैन भन्ने स्पष्ट संकेत दिए ।
ओलीले अर्काे कुरा पनि नबोलेरै प्रष्ट पारिदिए । त्यो कुरा हो– बोल्न पर्ने दिन आयो भने बोलौंला । नपढी नबुझी जवाफ दिन्न भन्नुको अर्थ यस सम्वन्धमा पढ्छु बुझ्छु अनि बोल्छु भनेको अर्थ पनि लगाउन सकिन्छ ।
विश्व आर्थिक मञ्चमा पाएको सफलताबाट उत्साहित भएर फर्किएका ओलीले भेनेजुयला प्रकरण र प्रचण्डको विज्ञप्ति उपर के टिप्पणी गर्छन् भन्ने उत्सुकता थियो । तर, उनले कूटनीतिक शैलीमा संचारकर्मीहरुको प्रश्न छलिदिए । अनि, प्रश्न छल्दाछल्दै आफ्नो धारणा पनि धेरै हदसम्म खुलाइदिए ।
सल्लाह अनेक
भेनेजुयला सम्बन्धमा प्रचण्डको विज्ञप्ति आएपछि बुद्धिजीवी जैनेन्द्र जीवनले ट्वीटरमा लेखे– ‘अमेरिकासँग हाम्रो घनिष्ट सम्बन्ध छ, जुन भेनेजुएलासँग छैन । भेनेजुएलाका जनता अहिले विभाजित छन, यस्तोमा अमेरिका हुन् कि चीन–रुस, शक्तिराष्ट्रहरुले चलखेल गर्छन् नै । यस्तोमा ठूलै माानवीय त्रासदी भएकोमा र अन्तराष्ट्रिय समुदाय सब एकातिर भएकोमा बाहेक कसैको पक्षविपक्षमा नेपाल उत्रन आवश्यक छैन ।’
लेखक तथा रिपब्लिका दैनिकका पत्रकार महावीर पौडेलले भेनेजुयला विज्ञप्ति प्रकरणमा एक वाक्यमै गहिरो टिप्पणी गरेका छन् । ट्वीटरमा उनले लेखे– ‘यो चुपो लागेर बस्नुपर्ने बिषयमा किन जान्नी हुनु पर्या यिनीहरुलाई ? कस्ले दियो यस्तो कुबुद्दी ?’
नेकपाका एक अध्यक्ष प्रचण्डले विज्ञप्ति दिएपछि सरकारको पनि धारणा त्यही हो कि होइन भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्छ । सेतोपाटी अनलाइनसँग पूर्व संचारमन्त्री भेषबहादुर थापाले भनेका छन्– ‘उहाँले (प्रचण्डले) जारी गरेको विज्ञप्तिले सरकारको धारणा भन्दैन । तर सत्तारूढ दलको अध्यक्षले विज्ञप्ति निकालिसकेपछि योबारे धारणा सार्वजनिक गर्न सोही पार्टीको सरकारलाई दबाब हुन्छ ।’
सरकारको धारणा के हो त ? प्रधानमन्त्री ओली फर्कनु अघि नै सनराइजखबरले सूचना तथा संचारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटासँग सोधेको थियो । प्रवक्ता बाँस्कोटाको भनाई थियो– ‘कुनै पनि पार्टीले आफ्नो पार्टीको धारणा मात्र प्रतिनिधित्व गर्न सक्छ तर सरकारले पूरै देशको धारणा बोक्छ । त्यसैले पार्टीले जे बोल्छ सरकारले त्यही बोल्न आवश्यक नहुन पनि सक्छ ।’ उनले जिम्मेवारी फरक भएकाले विषयलाई व्याख्या गर्ने शैली फरक हुनसक्ने पनि बताए ।
बाँस्कोटाले भने– ‘एउटा निर्विवाद तथ्य के हो भने विश्वशान्तिको पक्षमा यो सरकार अविचलित रुपमा उभिन्छ ।’
तर, विषय पेचिलो हुँदै गएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बीबीसीमा राखेको विचार यस्तो छ– ‘पार्टी नीतिकै अनुरूप सरकार सञ्चालन भइरहेको छ । सरकारले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेकै छ । त्यसकारण सरकारले पनि यही नीति अवलम्बन गर्छ भन्ने विश्वास छ ।’
पूर्व परराष्ट्र मन्त्री रहिसकेका श्रेष्ठ कूटनीतिका जानकार पनि हुन् । उनले गरेको टिप्पणीमा ‘सरकारले पनि यही नीति अवलम्बन गर्छ भन्ने विश्वाश छ’ शब्दावली प्रयोग भएको छ । उनले ‘सरकारले अवलम्बन गर्नैपर्छ’ भनेका छैनन् । अर्थात्, पार्टीका एक अध्यक्षले एउटा धारणा राखे पनि सरकार त्यही बाटोमा जानैपर्छ भन्ने वाध्यता नरहेको उनले संकेत गरेका छन् ।
अब सरकारले के गर्छ ?
प्रधानमन्त्री ओलीले भेनेजुयला र अमेरिकाको बारेमा शुक्रबार त्रिभुनव विमानस्थलमा जवाफ दिइरहँदा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि साथमै थिए । उनी विश्व आर्थिक मञ्चको सम्मेलनमा प्रधानमन्त्रीसँगै गएका थिए ।
ओलीले ‘भट्टराई कथा’ र ‘दुर्घटनामा ओलीको मृत्यु’ कथा सुनाइरहँदा ज्ञवाली मुसुमुसु हासिरहेका थिए । निष्कर्ष वाक्यका रुपमा ओलीले ‘पढ्नुपर्छ, बुझ्नुपर्छ’ भन्दा ज्ञवाली गम्भीर देखिए । उनले सन्तोषको श्वाश फेरेको प्रतीत हुन्थ्यो ।
के हो त ज्ञवालीको धारणा ? यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका एक अधिकारीले सनराइज खबरसँग भने –‘परराष्ट्रमन्त्रीज्यूको के धारणा हुन्छ भन्ने प्रष्टै छ । हामी भारत, चीन, अमेरिका या अन्य कुनै पनि देशको पक्ष लिँदैनौं र कसैको विपक्षमा पनि उभिँदैनौं । राजनीतिक दल तथा त्यसका नेताहरुले विभिन्न विषयमा धारणा राखिरहनुहुन्छ, दलहरुले आफ्ना विचार राखे भन्दैमा सरकारले त्यसबारे प्रष्टिकरण दिइरहन आवश्यक हुँदैन ।’
उनको अनौपचारिक टिप्पणी थियो– ‘यो सरकार परराष्ट्र मामिलामा चुक्ने र बहकिने सम्भावना छैन, अमेरिकाले इण्डो प्यासिफिक कमाण्डमा नेपालको केन्द्रिय भूमिका हुन्छ भनी विज्ञप्ति दिँदा समेत सरकारले समर्थन या विरोधमा टिप्पणी गरेन । अर्थात् दवाबको सुनुवाई गरेन । राष्ट्रिय हितसँग प्रत्यक्ष सरोकार भएको विषय बाहेक अन्य वैदेशिक मामिलामा सरकार सामान्यतया बोल्दैन ।’
किन बोले प्रचण्ड ?
प्रचण्डले भेनेजुयला सम्बन्धमा दिएको धारणामा गहिरो अर्थ खोज्नु बेकार भएको बताउँछन् कूटनीतिका अध्येता अशोक थापा । उनी भन्छन्– ‘प्रचण्डले कम्युनिष्ट परम्परा निर्वाह गरेका हुन्, श्राद्धमा विरालो बाँधे जस्तो गरेका हुन् । भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्नु नाजायज होइन तर उनको एउटा विज्ञप्तिले नेपालको समग्र परराष्ट्र नीति र नेकपाको धारणा प्रभावित हुन्छ भन्ने मान्नु हुँदैन ।’
उनी थप्छन्, ‘विश्वभरीका कम्युनिष्टहरुले निकोलस मडुरोको समर्थनमा विज्ञप्ति दिए होलान् । प्रचण्डको विज्ञप्तिलाई अमेरिकाले पनि कर्मकाण्ड मात्र ठान्ला, गम्भीरतापूर्वक नलिन सक्छ ।’


प्रतिकृया दिनुहोस