• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

‘नक्कली सुन’ बेच्न खोज्दा गिरोह नै प्रहरीको फन्दामा

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । बौद्धको पीपलबोटस्थित ‘एमएस ज्वेलर्स’ सुन पसलमा ‘स्विस १ किलो फाइन गोल्ड’ लेखिएको एक किलोको बिस्कुट राखिएको हुन्छ । 

गोरखाको चुमनुब्री गाउँपालिका घर भएकी ६५ वर्षीया जाम्मु लामाले सुन किन्ने ग्राहक खोज्ने जिम्मा लिन्छिन् । एक किलो नै किन्नेलाई सस्तोमा दिने अफर अनुसार उनले ग्राहक फेला पार्छिन् । 

ग्राहक भेटिएको कुरा उनले आफ्ना समूहका सदस्यहरुलाई सुनाउँछिन् । उनका साथीहरु हुन्छन्– सुन पसल सञ्चालक उमेश सुनार, टिनु घिमिरे पन्त, सस्मिता आचार्य र जीवन धामी । सुन किन्ने ग्राहक भेटिएपछि उनीहरू खुसी हुन्छन् । 

सोमबार सुन किन्ने ग्राहक कुरेर बसे उनीहरु । ग्राहक आए । ग्राहकलाई सुन देखाए । 

तर घटनामा ट्वीस्ट आयो । सुन किन्न आएका ग्राहकले उनीहरुलाई सुनसहित नियन्त्रणमा लिए । सुन किन्न आएका ग्राहक त सादा पोसाकका प्रहरी पो परेछन् । उनीहरुले बेच्न लागेको सुन नक्कली रहेछ । उनीहरु प्रहरीको फन्दामा परे । 

पाँच जनाको गिरोह मिलेर पित्तलमा सुनको जलप लगाएर उक्त बिस्कुट तयार पारेका रहेछन् । ‘नक्कली सुन’ देखाएर ठगी गर्ने गिरोहकी मुख्य नाइके रहिछिन् जाम्मु लामा । 

‘नक्कली सुनको फोटो देखाएर ग्राहकलाई ठगी गर्न खोज्ने पाँच जनालाई पक्राउ गरेका छौं’, महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) केदार ढकाल भन्छन्, ‘सुन बेच्ने गिरोह फलो गर्दै जाँदा बौद्धको सुन पसलमा राखेको एक किलो नक्कली सुनसहित नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान सुुरु गरेका छौं ।’ 

सुन पसल सञ्चालक सिन्धुपाल्चोक घर भएका २२ वर्षीय उमेश सुनारले सुनको जलप लगाएर पित्तलको बिस्कुटमा ‘स्विस १ किलो फाइन गोल्ड’ लेखेर सक्कली सुन जस्तै बनाएका थिए ।

चितवनकी टिनु घिमिरे पन्त, काठमाडौंकी सस्मिता आचार्य, सुनसरीका जीवन धामी चौधरीसहित पाँच जनाको गिरोह पक्राउ परेसँगै ठूलो ठगीको घटना टरेको छ । 

‘गिरोहमा मुख्य आइडिया लगाउने व्यक्ति जाम्मु लामा भन्ने खुलेको छ’, एसपी केदार ढकालले भने, ‘थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।’ 
 

प्रतिकृया दिनुहोस