राखेपका सदस्य सचिव सिलवालले लिए शपथ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त भएका रमेश सिलवालले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।
यसअघि बसेकाे मन्त्रिपरिषद् बैठकले सिलवाललाई नियुक्त गर्ने निर्णय गरेकाे थियाे । साेहीअनुसार युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सिलवाललाई नियुक्त गरेका हुन् ।
निवर्तमान सदस्यसचिव केशवकुमार विष्टको चार वर्षे कार्यकाल ९ असारमा पूरा भएपछि रिक्त पदमा सिलवाललाई नियुक्त गरिएको हो । सिलवालको कार्यकाल चार वर्षको हुनेछ ।
मन्त्री विश्वकर्माले सिलवाललाई सोमबारै खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथग्रहण समाराेहमा बाेल्दै सिलवालले जागिर खानका लागि यो पदमा नआएको बताए ।
सिलवालले आफ्नो कार्यकालमा अपारदर्शी काम हुन नदिने दाबी पनि गरे । ‘सरकारले ममाथि गरेको विश्वास डगमगाउन दिने छैन’, सिलवालले भने ।

सिलवाल यसअघि विष्ट नेतृत्वको परिषद्बाट गठित नेपाल क्रिकेट संघ (क्यान)को तदर्थ समितिको अध्यक्ष थिए । सिलवाल पूर्वक्यान उपाध्यक्ष पनि हुन् ।
उनी मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष समेत हुन् ।


प्रतिकृया दिनुहोस